सोही कार्यक्रममा चितवनका पाका लेखक ईश्वरी ओझाको महाकाव्य 'अविश्रान्त अवनी' माथि पनि समीक्षा गरिएको थियो ।
चितवन — कम्युनिस्ट नेता मोहन वैद्य किरणले लेखेको दर्शनशास्त्रको पुस्तक 'हिमाली दर्शन'माथि शनिबार भरतपुरमा विवेचना गरिएको छ । सोही कार्यक्रममा चितवनका पाका लेखक ईश्वरी ओझाको महाकाव्य 'अविश्रान्त अवनी' माथि पनि समीक्षा गरिएको थियो ।
अखिल नेपाल जनसाँस्कृतिक महासंघ चितवन शाखाले कार्यक्रम आयोजना गरेको थियो । 'हिमाली दर्शन' २०७४ सालमा प्रकाशित भएको थियो । पुस्तकबारे बोल्दै समीक्षक गोपीरमण उपाध्यायले हालको नेपाली सिमानाभित्र पर्ने भूक्षेत्रबाट पनि विगतमा दार्शनिकहरू जन्मिएको र दर्शनको जन्म भएको मान्यता पुस्तकले स्थापित गराउन खोजेको बताए । 'नभए यस्ता दर्शनलाई पुर्वीय या भारतीय उपमहाद्विपमा उत्पन्न भएको भन्दै आइयो । यो मन्यताविपरीत गएर मदनमणि दीक्षितले हिमाली उपमहाद्विप भन्नुभएको थियो । हिमाली दर्शनले पनि त्यही दीक्षितको जस्तै मान्यता बोकेको छ,' उपाध्यायले भने ।
कार्यक्रम अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय संयोजक हिरामणि दुखीले 'हिमाली दर्शन'को मर्म र अर्थ सही र गहिरो गरी बुझ्न संस्कृत साहित्यको राम्रो अध्ययन गर्नुपर्ने बताए । 'तर विगतमा हामीले संस्कृत भाषाको विरोध गर्यौं । त्यसो गर्नु हुँदैन रहेछ । संस्कृत भाषालाई ज्ञानको हैन कर्मकाण्डी मात्र बनाउने जुन तरिका थियो त्यसको विरोध गर्नुपर्ने रहेछ,' दुखीले भने ।
चितवनका ८६ वर्षीय स्रष्टा ओझाको महाकाव्य 'अविश्रान्त अवनी'को समीक्षा रविकिरण निर्जीवले गरेका थिए । तनहुँबाट बसाइँ सरेर आउने व्यक्तिलाई नायक बनाएर उसको संघर्षका कथा महाकाव्यमा समेटिएको उनले बताए । 'बसाइँसराइ, संघर्ष र माओवादीले सञ्चालन गरेको जनयुद्धसमेत महाकाव्यमा छ । सामान्य किसानलाई नायक बनाएर महाकाव्य लेखिए पनि यसले दिने सन्देश गहन छ,' उनले सुनाए ।
