‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ सुन्दर कुरुपलाई

पुरस्कार राशी ५० हजार रुपैयाँसँगै कदर पत्र छ ।

वैशाख २, २०८३

लक्ष्मी गौतम

'Hangyugjunita National Award' goes to Sundar Kurup

पाँचथर — इलाममा स्थापित हाङयुगजुनिता फाउन्डेसनले यस वर्षको ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ गजलकार, कवि तथा कथाकार सुन्दर कुरुप (सुन्दर कुमार लावती) लाई प्रदान गर्ने घोषणा गरेको छ ।

फाउन्डेसनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त पुरस्कार यहि वर्षदेखि वितरण सुरु गर्न लागिएको जनाएको हो ।

पहिलो संस्करणको पुरस्कार यो वर्ष वैशाख १८ र १९ गत इलाममा आयोजना हुन लागेको ‘इलाम साहित्य महोत्सव’ उद्घाटन सत्रमा वितरण गरिने फाउण्डेसनका अध्यक्ष हाङयुग अज्ञातले जानकारी दिए ।

पुरस्कार राशी ५० हजार रुपैयाँसँगै कदरपत्र छ । विज्ञप्तिमा उल्लेख गरिए अनुसार, फाउन्डेसनले प्रत्येक वर्ष साहित्य, कला, संगीत, पत्रकारिता, स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई नगद ५० हजार रुपैयाासहित सम्मान गर्ने निर्णय गरेको छ ।

सोहि अनुसार यस वर्षको पुरस्कारका लागि इलाम नगरपालिकाको साहित्य कला संगीत प्रतिष्ठानको सिफारिस अनुसार गजल, कविता र कथा मार्फत नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका स्रष्टा सुन्दर कुरुपलाई चयन गरिएको फाउन्डेसनले जनाएको हो ।

इलाम हात्तीलेखा क्षेत्रमा बसोबास गर्दै आएका सुन्दर कुरुप लेखनमार्फत राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल भका छन्।

फाउन्डेसनका अध्यक्ष हाङयुग अज्ञातका अनुसार उक्त पुरस्कार वैशाख १८ गते इलाम साहित्य महोत्सवको उद्घाटन समारोहबीच प्रदान गरिने तय भएको हो ।

फाउन्डेसनले साहित्य तथा सिर्जनशील क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो पुरस्कार स्थापना गरिएको जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully