जिरीमा साहित्यिक विमर्श, बिग्रँदो वातावरणलाई सुधार्ने सूत्रको खोजी

पर्यावरणका विषयमा लेखिएका कविता वाचनको कार्यक्रमसहित पहिलो बागमती पर्या-साहित्य महोत्सव आइतबार समापन भएको छ ।

चैत्र २९, २०८२

रमेशकुमार पौडेल

Literary discussion in the jury, search for a formula to improve the deteriorating environment

What you should know

दोलखा — दोलखा जिल्लामा पर्ने जिरी गौरीशंकर हिमालको काखमा छ । हरियालीले भरिएको, चिसो हावापानी भएको जिरीले भू-स्वर्गको उपमा पाएको छ । जिरी हिजो कस्तो थियो, आज कस्तो छ र भोलि कस्तो बनाउने ? जिरी मात्र नभएर विश्व नै कहाँबाट कहाँ आइपुग्यो, यसलाई कसरी जोगाउने ? यसबारेमा यहाँ शनिबारदेखि दुई दिनसम्म विमर्श चलिरहेको छ र यसमा सहभागी छन् साहित्यकारहरू । 

प्रथम बागमती पर्या-साहित्य महोत्सवमा छलफलका सत्रका साथै गजल र कविताको माहौल पनि जोडिने गरेको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिकाले आयोजना गरेको महोत्सवको उद्घाटन कार्यक्रमअघि यहाँका समुदायको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निस्केको थियो । प्रदेश वनमन्त्री भरतबहादुर केसीले महोत्सवको उद्घाघाटन गरेका थिए । उद्घाटन कार्यक्रमपछि लेखक साहित्यकार सञ्जीव उप्रेतीले विद्वत् प्रवचन दिँदै मानव केन्द्रित सोचले संसारमा वातावरण समस्या र अनेक खाले जटिलता बढेको बताए । 'मानव केन्द्रित रहेर गरिने कार्यले पृथ्वीको तापमान अस्वाभाविक बढेको छ । जीव जनावरहरू लोप हुन थाले । संसारलाई मानव केन्द्रित दृष्टिकोणबाट हेर्ने बुझ्ने गरेका कारणले नै यसो भएको हो,' उनले भने ।

उनले विकास र पर्यावरण संरक्षणबीच सन्तुलन कायम हुन पर्ने, प्रकृतिले दिने चेतावनीलाई बुझ्नु पर्ने बताए । 'सायद प्रकृतिलाई सुन्ने र पढ्ने सामर्थ्य र ज्ञान हामीमा नभएर हो कि, यो कला बिर्सेर पो हो कि प्रकृतिले विरोध गर्छ त्यो विरोध अतिवृष्टि, अनावृष्टिजस्ता संकट लिएर आउँछ,' उप्रेतीले सुनाए । उनले मान्छेलाई प्रकृति चाहिने तर प्रकृतिलाई मान्छे नभए पनि हुने तथ्य मनन गर्न अनुरोध गरे । पृथ्वी र पर्यावरणले मानिसलाई कसरी बुझेको होला भन्ने ख्याल राखेर साहित्य सिर्जना भए त्यो नै पर्या-साहित्य हुने उनको मत थियो ।Literary discussion in the jury, search for a formula to improve the deteriorating environment

'यो पृथ्वीमा बुद्धिमान प्राणी भनेर आफैंले हामीलाई घोषणा गरेका हौं । यदि अरू कुनै प्राणी प्रजातिले मान्छेको नाम राख्न परे मान्छेलाई सुईखुट्टे भष्मासुर भन्थे होलान्,' आइतबार दोस्रो दिनको मुख्य वक्ता वातावरणका बारेमा लेख्दै आएका लेखक तथा पत्रकार रमेश भुषालले भने । यो संसारका लाखौं प्राणीमध्ये मान्छे एक्लैले पृथ्वीको स्रोतको सबैभन्दा बढी उपभोग गरे पनि संसारमा सबैभन्दा दुखी हुने र अभाव अनुभव गर्नेमा मान्छे मात्र रहेको उनले बताए । 'कुनै एक प्रजातिकै कारण यसअघि पृथ्वीको तापक्रम कहिल्यै बढेको थिएन,' उनले भने । जलवायु संकट बढाउन मान्छेको भूमिका नै दोषी भएको उनले बताए । 

जलवायुसँगै भ्रष्टवायु बढेका कारण पृथ्वीले संकट बेहोर्नु परेको उनको मत थियो । 'यहाँ सिमेन्टवाद छ । संरक्षण गर्न नसकिने गाह्रो काम भएको छ । सिमेन्ट प्रयोग हुने योजना तुरून्त गरौं भनिन्छ । सिमेन्टसँग अनेक विकृति जोडिएर आएको छ,' भुषालले भने ।

भुषालको मन्तब्यपछि कार्यक्रम हलबाट बाहिर खुला स्थलमा सञ्चालन भयो । कुनै बेला हवाई मैदान रहेको तर अहिले गाई चरिरहेको हरियो चौर र सानो तलाउलाई पृष्ठभूमिमा पारेर कान्तिपुरका पत्रकार दीपक सापकोटाले 'हिजो, आज र भोलिको जिरी' बारे सत्र सञ्चालन गरे । प्रसिद्ध भूगर्भशास्त्री स्वीजरल्याण्डका नागरिक टोनी हेगन सन् १९५० मै जिरी पुगेका थिए । सन् १९५३ मा सगरमाथाका पहिलो आरोही बन्न सफल भएका सर एडमन हिलारी र तेन्जिङ नोर्गेको टोली काठमाडौं-जिरी रूट हुँदै सोलुखुम्बु पुगेका थिए । 

टोनी हेगनले जिरीलाई नेपालको स्वीजरल्याण्ड भनेका थिए । साथै यो सगरमाथाको प्रवेशद्वारका रूपमा परिचितसमेत बन्यो । हालको जिरीको अवस्था र अबको रूपबारे यही पृष्ठभूमिमा आधारित रहेर चर्चा चलेको थियो । जिरी नगरपालिकाका क्षेत्रमा आदिवासी जिरेल समुदायको बसोबास छ । जिरी नाम पनि जिरेल भाषाबाटै रह्यो ।Literary discussion in the jury, search for a formula to improve the deteriorating environment

'हाम्रा पिता पुर्खाका अनुसार जिग भनेको डर लाग्दो वन्यजन्तु र री भनेको वन हो । यसरी जिगरी जिगरी भन्दा भन्दै पछि जिरी नाम रह्यो,' नेपाल जिरेल संघका केन्द्रीय अध्यक्ष रहेका इन्जिनियर हीरा जिरेलले भने । जिरी नगरपालिकाका पहिलो मेयर टंकबहादुर जिरेलले २०१८ सालतिर स्वीस नागरिकहरूकै पहलमा जिरीमा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका कामहरू अगाडि बढेको बताए ।

'अरूतिर स्कुल बनाउन समुदाय लाग्छ । हाम्रोमा स्कुल बनेसँगै स्कुल वरपर बस्ती बस्यो,' जिरी माविका पूर्वप्रधानाध्यापक केशवकुमार कार्कीले भने । जिरी अस्पतालका चिकित्सक स्थानीय बासिन्दा डा.उर्गेन शेर्पाले पर्यटक बढेसँगै जिरीमा पर्यावरणको चिन्ता थपिएको बताइन् । 'यहाँ कृषि बढाए, प्राङ्गारिक कृषि अपनाए यसैबाट पर्यटन विकास पनि हुन्छ र पर्यावरण पनि जोगिन्छ,' डा.शेर्पाको मत थियो ।

लुक्लामा विमानस्थल बनेसँगै सगरमाथा जानेहरू जिरी आउन छाडे । तर जिरीदेखि सोलुसम्म लगभग दुई सय किलोमिटरको एभरेष्ट रोड बने पर्यटन फष्टाउने संस्थापक मेयर टंकबहादुर जिरेलले बताए । पूर्व प्रधानाध्यापक केशवकुमार कार्कीले जिरीको सौन्दर्यलाई प्रचार गरे र कृषिलाई बढाए पर्यटन पनि फष्टाउने समुदायले पनि लाभ लिन सक्ने बताए । यहाँका प्राकृतिक सौन्दर्यलाई र मौलिक सामाजिक संस्कृतिलाई नै प्रवर्ध्दन गर्न उनले जोड दिए ।

कार्यक्रममा साहित्यमा पर्यावरणका विषयलाई कसरी समेटिएको छ भन्नेबारेमा राजकुमार बानियाँले भुपिन खड्का, अर्चना थापा र ददि सापकोटासँग छलफल चलाएका थिए । त्यसै गरी पाठ्यक्रममा पर्यावरणका विषय लगायत साहित्यकलाई पर्यावरणसँग जोड्ने बारेमा पनि कार्यक्रममा विभिन्न सत्रमा छलफल भए । शनिबार साँझ कुमार नगरकोटीसँग काव्य उत्सव सम्पन्न भयो । त्यसअघि गजल प्रस्तुत भएका थिए । पर्यावरणका विषयमा लेखिएका कविता वाचनको कार्यक्रमसहित पहिलो बागमती पर्या-साहित्य महोत्सव आइतबार समापन भएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully