प्राध्यापक सम्मेलनमा बृहत् ग्रन्थ सार्वजनिक

८ सय ७२ पृष्ठ रहेको पुस्तकमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ आलेख संग्रहृत छन् ।

चैत्र २८, २०८२

एजेन्सी

Comprehensive book released at professors' conference

काठमाडौँ — शङ्खघन्टध्वनिका साथ नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उद्घाटन गरिएको छ । शनिबार समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले काठमाडौंमा सम्मेलनको उद्घाटन गरेका हुन् ।  

प्रमुख अतिथि डा.त्रिपाठीले सम्मेलनको उद्घटनसँगै नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थको पनि लोकार्पण गरे ।

समारोहमा डा.त्रिपाठीले नइबाट आफ्नै आन्तरिक साधनस्रोतमा आयोजित ऐतिहासिक तीनदिने सम्मेलनमा नै प्रकाशित उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिक मात्र नभएर सुनमा सुगन्धको योगजस्तो हुन पुगेको बताए ।

८ सय ७२ पृष्ठ रहेको पुस्तकमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ आलेख संग्रहृत छन् । नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूबाट नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त यस ग्रन्थमा समेटिएको छ । 

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको दोस्रो दिनको समारोहमा प्रमुख अतिथि समालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्य-सचिव नरेन्द्रराज प्रसाईले सम्मेलनबारे आ-आफ्नो मन्तव्य राखेका थिए ।

सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा.त्रिभुवन बरई र नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य दिएका थिए।

एजेन्सी

Link copied successfully