नइको प्राध्यापक सम्मेलन सुरु

सम्मेलनको पहिलो दिन नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने २५ जना प्रतिनिधि प्राज्ञहरूले आ-आफ्नो मन्तव्य राखेका थिए ।

चैत्र २७, २०८२

एजेन्सी

New professors' conference begins

काठमाडौँ — नेपाल र भारतका विश्वविद्यालयका प्राध्यापकहरूको सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागितामा सम्मेलन सुरु भएको हो ।

सम्मेलनका प्रमुख अतिथि समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिह्न र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गरेका थिए । २०३१ सालमा प्राडा वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका हुन्। उनकै प्राज्ञिक नेतृत्वमा यो सम्मेलन हुँदै छ ।

नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्चशिक्षाका कतिपय अनिर्णीत सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको कुलपति इन्दिरा प्रसाईंले बताइन्।  

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषासाहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३  वटा विश्वविद्यालय र नेपालका छवटा विश्वविद्यालयका दस्तावेज प्रस्तुत गरिने छन् । सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आ-आफ्ना विश्वविद्यालयबारे चर्चा गरेका थिए ।

तीनदिने सम्मेलनको पहिलो दिनको समारोहमा समालोचक प्राडा वासुदेव त्रिपाठी, प्राडा चूडामणि बन्धु, प्राडा दयाराम श्रेष्ठ, प्राडा दिवाकर प्रधान, प्राडा कविता लामा, सल्लाहकार प्रा केशव सुवेदी, सम्मेलनका संयोजक प्राडा महादेव अवस्थी, सदस्य-सचिव नरेन्द्रराज प्रसाईलगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने २५ जना प्रतिनिधि प्राज्ञहरूले आ-आफ्नो मन्तव्य राखेका थिए ।

एजेन्सी

Link copied successfully