‘मेरो कविता सिजन-१’ को ट्रफी सिक्किमे कविलाई

कवि सोनाम पाल्जोर तामाङले ट्रफीसँगै तीन लाख नगद र प्रमाणपत्र पाएका छन् ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Sikkimese poet wins trophy for 'Mero Kavita Season-1'

काठमाडौँ — सिक्किमका कवि सोनाम पाल्जोर तामाङले 'मेरो कविता : द रिदम अफ पोएट्री' सिजन– १ को ट्रफी हात पारेका छन् ।

२५० भन्दा बढी कविहरुलाई पछि पार्दै सोनामले उक्त ट्रफी जितेका हुन् । ट्रफीसँगै उनले तीन लाख नगद र प्रमाणपत्र पाए ।

तेह्रथुमका कवि प्रवेग हाङ्स्रोङ प्रतियोगितामामा फस्ट रनरअप हुँदै नगद एक लाख हात पारे । झापा कचनकवलका कवि टोलीप्रसाद राजवंशी सेकेन्ड रनरअप र पाँचथर फिदिमका कवि सेसे थाम्सुहाङ थर्ड रनरअप भए । उनीहरुले क्रमश: ७५ हजार, ५० हजारसहित ट्रफी, प्रमाणपत्र हात पारे । 

प्रतियोगितामा ‘जजेज चोइस अवार्ड’ धरान सुनसरीका कवि विनेश राई मिन्जाईले प्राप्त गरे । दमक बेलडाँगीका अविलाल राईले ‘बेस्ट पर्फमर अवार्ड’ जित्न सफल भए भने रोङ इलामका कवि अनिश राईले ‘राइजिङ पोएट’ अवार्ड हात पारे । 

तीन महिनादेखि माई प्लेटफर्म, रिदम एन्ड रियालिटी र बेलडाँगी नाट्य परिवारको संयुक्त आयोजनामा सञ्चालनमा भइरहेको 'मेरो कविता : द रिदम अफ पोएट्री' को ग्रान्ड फिनाले सम्पन्न भएको हो । प्रतियोगिताको निर्णायकमा कवि हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बु र अज्ञात दधी थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न फिनालेमा उत्कृष्ट १० प्रतियोगी कविहरुले प्रस्तुति दिएका थिए । बेलडाँगीमा सम्पन्न कार्यक्रममा सर्वोत्कृष्ट कविहरुलाई पुरस्कार प्रदान गर्दै कुलपति राईले भने, 'कविता प्राचीन विधा भएर पनि सधैं नवीन रहन्छ । मुस्किलले टेक्स्टमा पढ्न सकिने कवितालाई बिस्तारै सुन्न थालियो । अहिले कविता हेर्ने  विधाको रुपमा अघि बढिरहेको छ । तर कविताको पहिलो सर्त टेक्स्ट हो ।'

कान्तिपुर

Link copied successfully