लोकरञ्‍जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ सार्वजनिक

लेखक पराजुली वि.सं. २००७ को परिवर्तन आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो टर्निङ पोइन्ट भएको बताउँछन् । 

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Lokaranjan Parajuli's book 'Sandhikal' published

काठमाडौँ — नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि’ सार्वजनिक गरिएको छ । ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार नेपालयको आरशालामा विमोचन गरिएको हो ।

लेखक लोकरञ्जन पराजुलीले आफ्नो पुस्तक ऐतिहासिक महेशराज पन्त, जेन-जी अभियन्ता रक्षा बम र समाजविज्ञानका विद्यार्थी यादव अर्याललाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।

लेखक पराजुलीले वि.सं. २००७ को परिवर्तन आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो टर्निङ पोइन्ट भएको बताए । ‘२००७ पछि रैतीहरूलाई सार्वभौम नागरिकका रूपमा स्वीकार गरियो । बोल्न, पढ्न, लेख्न, छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरण बन्यो,’ लेखक पराजुलीले भने, ‘सात सालले भुइँतहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ–संगठन, मिडिया, स्कुल, कलेज, पुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै ल्यायो ।’

राणा शासन विरोधी आन्दोलनको व्याख्या गर्ने क्रममा सामाजिक, साहित्यिक, रेडियो, शिक्षा, सिनेमाहरुको योगदानबारे चर्चा नगरिएको लेखक लोकरञ्जन पराजुलीले बताए । ‘रुख ढल्नुमा जसरी बन्चरोको अन्तिम प्रहारको मात्र योगदान हुँदैन, उसरी नै कुनै पनि परिवर्तन देखिएको अन्तिम कारणले मात्र भएको हुँदैन,’ लेखक पराजुलीले भने, ‘परिवर्तनमा कवि, कलाकार, सिनेमा हल, रेडियो, पत्रपत्रिका आदि धेरैको भूमिका हुन्छ । मैले त्यही आधारभूमि सन्धिकालमा खोतलेको छु ।’

Lokaranjan Parajuli's book 'Sandhikal' published

२००७ फागुन ७ गते प्रजातन्त्र आए पनि त्यसको आधार अलि पहिलेदेखि नै तयार हुँदै गएको लेखक पराजुलीको भनाइ छ । उनको अध्ययनमा चार सालदेखि सात सालबीचको समय सन्धिकाल हो । सन्धि अर्थात् कुनै युगको समाप्ति भई अर्को युग प्रारम्भ हुँदै गरेको समय । 

नेपालले ७५ वर्ष पहिले हिँडेको प्रजातान्त्रिक बाटोको कथा ‘सन्धिकाल’ पुस्तकमा समेटिएको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘म पुस्तक वार्ताहरू नियमित पढ्थेँ । त्यहाँ एउटा स्थायी प्रश्न हुन्थ्यो— नेपालमा कस्ता पुस्तक लेखिनुपर्छ ? अनि जवाफ पनि स्थायी नै हुन्थ्यो— नेपालको इतिहास, राजनीति, समाज, शिक्षा, संस्कृति, भूगोल आदिबारे गहिरो अनुसन्धान गरी लेखिएका पुस्तक लेखिनुपर्छ,’ सम्पादक आचार्यले भने, ‘त्यही धेरैले दिने स्थायी जवाफको बलियो जवाफ हो, पुस्तक— सन्धिकाल ।’ सात सालको युगान्तकारी परिवर्तनका सामाजिक आधार र आयाम ‘सन्धिकाल’मा खोतलिएको उनले बताए ।

पब्लिकेसन नेपालयले ‘सन्धिकाल’को लोकार्पण कार्यक्रम अग्रिम दर्ताबाट गरेको थियो । ‘महाकवि देवकोटाहरुले राणाकालमै टिकटमा कवि सम्मलेन गर्नुभएको आज लोकार्पित पुस्तक सन्धिकालमा उल्लेख छ । हामीले पनि लोकार्पण कार्यक्रमलाई टिकटमा गर्ने प्रयास गर्यौँ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘आरशाला हल सीमित सिटको भएको हुँदा हामीले टिकटमा गर्यौँ । यसमा उत्साहजनक सहभागिताले हामीलाई हौसला मिलेको छ ।’

‘सन्धिकाल’का लेखक लोकरञ्जन पराजुली सामाजिक अध्ययन–अनुसन्धान गर्ने संस्था मार्टिन चौतारीमा आबद्ध ऐतिहासिक समाजशास्त्री हुन् । उनले जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका छन् । पराजुलीको लेखन–सहलेखन, सम्पादन–सहसम्पादनमा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनले सहसम्पादन गरेको पछिल्लो पुस्तक ‘नेपाल इन द लङ नाइन्टिन फिफ्टिज’लाई भारतीय इतिहासकार लेखक रामचन्द्र गुहाले समीक्षा गरेका छन् । 

नेपालका दुई प्रतिष्ठित जर्नल ‘स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ (सिनास) र ‘समाज अध्ययन’का उनी सम्पादक हुन् । नेपाली समाज, शिक्षा, इतिहास र राजनीतिबारे पराजुली गहिरो ज्ञान राख्छन् ।

३०८ पृष्ठको ‘सन्धिकाल’को मूल्य ६७५ रुपैयाँ रहेको छ । 

कान्तिपुर

Link copied successfully