मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग

किरात राई प्रज्ञा परिषद्को आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली विषयक छैटौं प्राज्ञिक संगोष्ठी–२०८२’ पछि यलाखोम घोषणापत्र जारी गर्दै उक्त माग सार्वजनिक गरेको छ ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Demand to list Mundum knowledge systems on UNESCO's Intangible Cultural Heritage List

काठमाडौँ — किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग गरेको छ । 

किरात राई प्रज्ञा परिषद्को आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली विषयक छैटौं प्राज्ञिक संगोष्ठी–२०८२’ पछि यलाखोम घोषणापत्र जारी गर्दै उक्त माग सार्वजनिक गरेको छ । 

‘किराती समाजमा हजारौं वर्षदेखि सामूहिक पुर्ख्यौली ज्ञानहरू मौखिक रूपमा हस्तान्तरण तथा नवीन ज्ञानहरूसहित जीवन्त अभ्यास हुँदै आएको छ, जसलाई मुन्दुम ज्ञान प्रणाली भनिन्छ,’ घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, ‘विश्वमानव समाजका लागि उपयोगी मुन्दुम ज्ञान प्रणालीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको मौलिक बौद्धिक प्रतिनिधित्व गर्न सक्ने सामर्थ्य भएकोले युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग गर्दछौं ।’

संगोष्ठीमा २३ कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । जसमा मुन्दुम र मुन्दुम दर्शन, साकेला, मुन्दुम विश्वदृष्टिकोण र विऔपनिवेशीकरण, सृष्टि वर्णन, उपचार पद्धति र न्याय प्रणालीको बृहत् चर्चा भएको थियो । यस्तै सुप्तुलुङ, परिवार र लैंगिकता, मानवभाषा शास्त्र र मुन्दुम शब्द, बसाइँसराइ, यात्रा वर्णन र अनुष्ठान जस्ता विषयमा सघन छलफल भएको थियो । 

‘यहाँ स्मरणीय कुरा के छ भने किराती समाजमा भाषिक विविधताअनुसार मुन्दुम, मुन्धुम, मुन्थुम, मुद्दुम, मुदुम, मुडुम, मुक्तुम, मुक्दुम, मुग्दुम, मुन्तुम, मिन्दुम, रिदुम, तम्र, तुम्लो, पेलाम, ड्युम्ला, याङ्मा खाउ शब्दहरू प्रयोग हुन्छन् जसको आद्य शब्द चाहिं ‘मुन्दुम’ मानिएको छ,’ घोषणापत्र वाचन गर्दै परिषद्का सदस्य भोगीराज चाम्लिङले भने । 

घोषणापत्रको दोस्रो बुँदामा राजनीतिक, आर्थिक, सांस्कृतिक, पर्यावरणलगायतसाग सम्बन्धित मुन्दुम तथा नेपालका मौलिक आदिवासीय ज्ञान प्रणालीहरूलाई आधार बनाएर मात्रै ‘नेपाली समाजवाद’ विकास तथा त्यसप्रति बृहत्तर स्वामित्व निर्माण गर्न सम्भव हुने उल्लेख छ । ‘मुन्दुम ज्ञान प्रणालीसम्बन्धी पठनपाठनका लागि विद्यालय तथा विश्वविद्यालय स्थापना गर्न तथा सामुदायिक र सरकारी शिक्षण संस्थाहरूमा समेत पठनपाठनको व्यवस्था गराउन माग गर्दछौं,’ तेस्रो बुँदामा उल्लेख छ । 

समापन सत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले किरातीले संज्ञानको रूपले संस्कार, संस्कृति र सभ्यताको मूल स्रोत मुन्दुमलाई मान्ने गरेको बताए । ‘मुन्दुम विषयक बहस, अभिलेखीकरण, पुस्तान्तरण बौद्धिक दृष्टिकोणले संश्लेषण गरेर अघि बढ्न जरुरी छ,’ कुलपति हार्तम्छालीले भने, ‘मौखिक ज्ञान प्रणालीलाई जीवन दर्शन र जगत परिचालनको सूत्राधार अवधारणा मुन्दुममा आउने भएकोले लोकल टु सेन्ट्रल टु ग्लोबतर्फ गइरहेका छौं । अब ग्लोबल टु सेन्ट्रल टु लोक पनि लिएर यसलाई समायोजनतर्फ जानुपर्छ ।’

प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले मुन्दुम मौखिक ज्ञान प्रणाली विश्व समुदायमाझ अन्तर्राष्ट्रिय ज्ञान तथा विज्ञानसम्मत तुल्याउने प्रयास जारी रहेको बताए ।

कान्तिपुर

Link copied successfully