कार्यक्रममा मञ्चका अध्यक्ष तथा मुक्तककार तेजबहादुर गुरुङ (तेजबहादुर च्हाक्ली तमू) को मुक्तकसंग्रह ‘बिन्तीपत्र’ को पनि लोकार्पण गरिएको थियो ।
लमजुङ — यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार’ निबन्धकार तथा समालोचक गुरुङ सुशान्तलाई प्रदान गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा शनिबार आयोजित गुरुङ साहित्यिक मञ्चको नवौं स्थापना दिवसको अवसरमा सुशान्तलाई फेटा लगाइ नगद ३५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । रसुवामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका सुशान्तले साहित्य र लेखन क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।
सुशान्तलाई मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ, पुरस्कारका संस्थापक तथा मञ्चका संस्थापक अध्यक्ष गौरी गुरुङ (गौरीसरा), तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङलगायतले संयुक्तरुमा पुरस्कार तथा सम्मानपत्र प्रदान गरे ।
मञ्चका महासचिव सम्राट गुरुङका अनुसार मञ्चले लेखन तथा साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका एकजना स्रष्टालाई प्रत्येक दुई वर्षमा सम्मान गर्दै आएको छ । यसअघि कवि छम गुरुङ, लेखक तीर्थ गुरुङ र कवि चन्द्र गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गरिसकिएको छ ।
पुरस्कारका संस्थापक गौरी गुरुङले आफ्नो प्रथम कृति ‘समै दर्बानी’ को बिक्रीबाट संकलित रकम तथा विभिन्न पुरस्कारबाट प्राप्त नगद जोडेर सुरुमा १ लाख ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी थिइन् । पछि उक्त कोषलाई विस्तार गर्दै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुर्याइएको र कोषको ब्याजले स्रष्टालाई पुरस्कारसहित सम्मान गरिँदै आएको मञ्चले जनाएको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष तथा मुक्तककार तेजबहादुर गुरुङ (तेजबहादुर च्हाक्ली तमू) को मुक्तकसंग्रह ‘बिन्तीपत्र’ को पनि लोकार्पण गरिएको थियो । कृतिको वाचन मिश्रामाया गुरुङले गरेकी थिइन् । समीक्षात्मक टिप्पणी साहित्यकार तीर्थ गुरुङले प्रस्तुत गरेका थिए ।
कार्यक्रमअन्तर्गत ‘तमू पहिचानः शास्त्र, साहित्य र सञ्चारको संवाद’ विषयक सत्रमा गुरुङ शास्त्रका ज्ञाता डा. पोलबहादुर गुरुङ, साहित्यकार गुरुङ सुशान्त र वरिष्ठ सञ्चारकर्मी गंगादेवी गुरुङले आ–आफ्ना धारणा राखेका थिए । उक्त सत्रमा तमू विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरुङले टिप्पणी गरेका थिए ।
कार्यक्रममा तमू बौद्ध सेवा समितिका महासचिव पुष्पबहादुर गुरुङ, तमूस्यो हृयुला छोंज धींकी महासचिव दलकुमारी गुरुङ, मञ्चका सल्लाहकार रामकाजी कोने तमू, नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङलगायतले गुरुङ साहित्यको अवस्था, सम्भावना र प्रवर्द्धनका उपायबारे विचार व्यक्त गरेका थिए ।
