दाहाल प्रतिष्ठानले रामरिझन यादवलाई १ लाख १ हजारसहित सम्मान गर्ने
सिरहा — दाहाल प्रतिष्ठानले ‘पद्मप्रसाद–कृष्ण कुमारी दाहाल सामाजिक सम्मान पुरस्कार-२०८२’ यसपालि लेखक एवं वरिष्ठ पत्रकार रामरिझन यादवलाई प्रदान गर्ने भएको छ ।
चार दशकबढी समयदेखि समाजसेवा, पत्रकारिता, प्राध्यापन, लेखनसहित विभिन्न राजनीतिक अभियानमार्फत समाजमा योगदान दिँदै आएका यादवलाई १ लाख १ हजार रुपैयाँ नगद राशिसहित सम्मान गरिनेछ । यादव तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकारसमेत बनेका थिए ।
२०१६ फागुन १७ गते सिरहाको सन्हैठामा जन्मिएका यादवको नेपाली र मैथिली भाषामा आठ वटा कृति प्रकाशित छन् । भाषा र संस्कृति प्रवर्द्धनका लागि क्रियाशील रहेका यादव नेपाल पत्रकार महासंघद्वारा स्वतन्त्रता सेनानी सम्मान, वातावरण पत्रकारिता पुरस्कारसहित दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।
विराटनगर निवासी समाजसेवी बद्रीप्रसाद पहाडी दाहाल आफ्ना मातापिताको स्मृतिमा दस लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । त्यसैबाट प्राप्त ब्याजबाट यो सम्मान/पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव सूर्यकुमार दाहालले जानकारी दिए ।
