हरेक विधामा ५० हजार पुरस्कारका लागि पुस्तक आह्वान

काव्य, आख्यान र गैरआख्यान विधामा नवोदित लेखकका सर्वोत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गरिनेछ ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Books invited for 50,000 rupees prize in each category

काठमाडौँ — एक लाख ५० हजार राशिको ‘साहित्यपोस्ट पुरस्कार २०८१’ का लागि पुस्तक आह्वान गरिएको छ । साहित्यपोस्टले काव्य, आख्यान र गैरआख्यान तीन विधामा तीन नवोदित लेखकका सर्वोत्कृष्ट कृतिलाई प्रदान गर्ने नगदसहितको सम्मानका लागि पुस्तक आह्वान गरेको हो ।

काव्यका लागि ‘साहित्यपोस्ट काव्य पुरस्कार’, आख्यानका लागि ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ तथा गैरआख्यानका लागि ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ नामका विधागत रूपमा प्रदान गरिने यी सम्मानको पुरस्कार राशि ५०–५० हजार रुपियाँ रहेको छ ।

०८२ सालभित्र (वैशाख १ देखि चैत्र ३० सम्म)   पहिलो पुस्तक प्रकाशन गरेका लेखक–कवि यी पुरस्कारको हकदार हुनेछन् ।

‘पुराना लेखक–कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरू छन्, तर नवोदित लेखकका रचनालाई स्थान दिने तथा उनीहरूलाई सम्मान गर्ने संस्था र सञ्चारमाध्यमहरू हामीकहाँ पाउन मुस्किल छ । यही सत्यलाई स्वीकार्दै ०७७ सालबाट साहित्यपोस्टले यो अभियान सुरु गरेको हो,’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने ।

वर्षभरि प्रकाशनमा आएका काव्य (कविता, गजल, मुक्तक, हाइकु, बाछिटा आदि) सङ्ग्रहबाट एकजना; आख्यान (कथा, उपन्यास, नाटक, लघुकथा आदि) सङ्ग्रहबाट एकजना तथा गैरआख्यान (निबन्ध, नियात्रा, नेपाली भाषा साहित्यसम्बन्धी अध्ययन–अनुसन्धानात्मक कृतिहरू आदि) बाट एकजना गरी तीन जना नवोदित स्रष्टालाई ५०–५० हजार राशिको नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

पुरस्कारको पहिलो विस्तृत सूची ०८२ साल वैशाख २० गते सार्वजनिक गरिने कोइरालाले बताए । 

कान्तिपुर

Link copied successfully