‘बखान’ उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार

साहित्य संगम चितवनले हालै भरतपुरमा आयोजित एक समारोहबीच पराजुलीलाई नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरेको हो।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Martyr Shiv Prasad Poudel Memorial National Award for the novel 'Bakhan'

काठमाडौँ — पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

साहित्य संगम चितवनले हालै भरतपुरमा आयोजित एक समारोहबीच पराजुलीलाई नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरेको हो।

संस्थाका उपाध्यक्ष चिराग भण्डारीका अनुसार साहित्य संगम चितवनले यसअघि १४ जना स्रष्टालाई सम्मान गरिसकेको छ। कार्यक्रममा साहित्यकार उदय अधिकारीले सहिद शिवप्रसाद पौडेलको संक्षिप्त परिचय प्रस्तुत गर्दै २०३७ सालको विद्यार्थी आन्दोलनका क्रममा भएको बलिदानको स्मरण गरे।

कार्यक्रममा वक्ताहरूले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रिय स्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राखे।

प्राध्यापक डा. कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर संगम प्रस्तुत भएको बताए। उनका अनुसार उपन्यासको पहिलो अध्याय केही जटिल भए पनि दोस्रो अध्यायदेखि कथा प्रवाहले पाठकलाई आकर्षित गर्छ।

उक्त अवसरमा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईंलगायतले कृतिको प्रशंसा गरे।

सम्मान ग्रहणपछि लेखक बसन्त पराजुलीले यस सम्मानले आफ्नो लेखनलाई अझ परिस्कृत र सुधार गर्न प्रेरणा मिलेको जनाए ।

वास्तविक जीवनका अनुभव तथा ज्येष्ठहरूसँग गरिएका संवादलाई आख्यानमा रूपान्तरण गरेको उनले उल्लेख गरे।

साहित्यकार अनिल शर्मा ‘बिरही’ले ‘बखान’ ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्त्व झल्काएको बताए।
 
बेल्जियममा ‘बखान’ को लोकार्पण 

Martyr Shiv Prasad Poudel Memorial National Award for the novel 'Bakhan'
यसैबीच बेल्जियमको एन्टवर्प सहरमा उपन्यास ‘बखान’ को ‘युरोप लोकार्पण’ गरिएको छ ।

बेल्जियम र युरोपियन युनियनका निम्ति नेपाली राजदूत सेवा लम्साल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माई, अनेसास युरोप सहसंयोजक पञ्चम अधिकारी, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारञ्जित, पूर्वअध्यक्षहरू विमल गिरी, दीपेन्द्र केसी, साहित्यकार ब्रम्हदत्त वाग्ले, एनआरएन संघ, बेल्जियमका अध्यक्ष कमल पन्थीलगायतले उक्त पुस्तक लोकार्पण गरे । 

कार्यक्रममा राजदूत लम्सालले उपन्यासको ऐतिहासिक पक्षका साथै चितवनको बस्ती विकासको इतिहासबारेको पुस्तक लोकार्पण गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरिन् ।   

कान्तिपुर

Link copied successfully