तीन जिल्लाका कवि पाख्रिबासमा भेला

‘राम्चेमा कविता वाचन’ नाम दिइएको उक्त भेलामा सहभागी कविहरूले समय सान्दर्भिक राजनीतिक घटनाक्रमदेखि सामाजिक, सांस्कृतिक, प्रेम, वियोग तथा जीवन दर्शनका भावमा रचिएका कविता वाचन गरेका थिए ।

चैत्र १४, २०८२

रमेशचन्द्र अधिकारी

Poets from three districts gather in Pakhribas

धनकुटा — धनकुटाको पाख्रिबासमा शनिबार तीन जिल्लाका कवि सहभागी बृहत साहित्यिक भेला सम्पन्न भएको छ । पाख्रिबास साहित्य कला समाजको आयोजनामा भएको बृहत् साहित्यिक भेलामा धनकुटा, भोजपुर र तेह्रथुमका ३८ कविले कविता वाचन गरेका हुन् । 

‘राम्चेमा कविता वाचन’ नाम दिइएको उक्त भेलामा सहभागी कविहरूले समय सान्दर्भिक राजनीतिक घटनाक्रमदेखि सामाजिक, सांस्कृतिक, प्रेम, वियोग तथा जीवन दर्शनका भावमा रचिएका कविता वाचन गरेका थिए । 

उक्त अवसरमा धनकुटा, तेह्रथुम र भोजपुरका कवि सहभागी रहेको आयोजक पाख्रिबास साहित्य कला समाजका सचिव ध्रुव एलेक्सले जानकारी दिए । 

धनकुटाका रोशन परियार, उत्तम तुम्सा लिम्बू, केजी सुब्बा, आरसी अधिकारी, अनन्त अनुराग, भीम राई, ओमप्रकाश निरौलाले रचना वाचन गरे । यस्तै, सञ्जय सयल, सन्तोष सुवेदी, गोपाल बराइली, ध्रुव एलेक्स, द्वारिका रिजाल, डीआर फुयल, रेखा क्षेत्री, इन्दु केसी, चकेन्द्र राई, प्रज्ज्वल पुरकार तथा तारा काफ्ले लगायतले पनि सिर्जना वाचन गरेका थिए । उक्त अवसरमा तेह्रथुमका दिनेश थापा, रोशन यात्री तथा भोजपुरका मणि राई लगायतले सिर्जना प्रस्तुत गरेका थिए । 

गत चैत ७ गते आयोजना गरिने भनिएको कार्यक्रम उक्त समयमा वर्षा र हावाहुरीका कारण स्थगित गरिएको थियो । जिल्लामा हरेक शुक्रवार ‘चियासँग कविता’ लगायतका साहित्यिक जमघट नियमित हुँदै आएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully