वैशाख १८ र १९ मा ‘इलाम साहित्य महोत्सव’

नेपालसहित भारतको सिक्किम, सिलिगुडी, दार्जीलिङ तथा बंगलादेशका चर्चित साहित्यकार, लेखक र कलाकर्मीको उल्लेखनीय सहभागिता रहने

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

'Ilam Literature Festival' to be held on April 18 and 19

काठमाडौँ — आगामी वैशाख १८ र १९ गते पर्यटकीय सहर इलाममा अन्तर्राष्ट्रिय स्तरको ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ । अब हुँदै गरेको महोत्सवको यो पाँचौं संस्करण हो । यस महोत्सवले साहित्य अनि पर्यटनलाई एकसाथ जोड्ने र इलामलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ ।

साहित्यको माध्यमबाट इलामको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष यस महोत्सव आयोजना हुँदै आएको छ । यस वर्ष पनि महोत्सव भव्य रूपमा हुन लागेको आयोजक ‘इलाम नगर साहित्य प्रतिष्ठान’ ले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण र प्रविधिलगायत विविध विषयमा गहन बहस र छलफल हुनेछ । नेपालसहित भारतको सिक्किम, सिलिगुडी, दार्जीलिङ तथा बंगलादेशका चर्चित साहित्यकार, लेखक र कलाकर्मीको उल्लेखनीय सहभागिता रहने आयोजकले बताएका छन् । 

‘इलाम नगर साहित्य प्रतिष्ठान’ का अध्यक्ष प्रकाश थाम्सुहाङले महोत्सवले इलामको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई साहित्यिक रङमा उजागर गर्ने बताए । साहित्यप्रेमी, पर्यटन व्यवसायी तथा स्थानीयवासीका लागि यो एउटा रोचक र स्मरणीय अवसर बन्ने छ । यसले महोत्सवलाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गर्ने र इलामलाई सीमापार पनि साहित्यिक संवादको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

सदरमुकाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिंदै आयोजक संस्थाका अध्यक्ष प्रकाश थाम्सुहाङले भने, ‘महोत्सवले इलामलाई अन्तर्राष्ट्रिय साहित्यिक केन्द्र बनाउनेछ । यसले सिर्जनात्मक अभिव्यक्ति मात्रै नभई पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ । हामीले साहित्य र संस्कृति मार्फत इलामको पहिचान विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेका छौं ।’ पत्रकार सम्मेलनमा महोत्सवको आधिकारिक लोगो पनि सार्वजनिक गरिएको थियो । लोगोले इलामको पहिचान रेडपाण्डा, साहित्यिक भावना र पर्यटनको सन्देशलाई प्रतीकात्मक रूपमा समेटेको छ ।

महोत्सवको आयोजना ‘इलाम नगर साहित्य प्रतिष्ठान’ र ‘इलाम साहित्य समाज’ ले संयुक्त रुपमा गरेका छन् । महोत्सवको विशेष आकर्षणका रूपमा वरिष्ठ साहित्यकार बैरागी कांईलालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि समावेश छ । ‘महोत्सवले नेपाली साहित्यमा बैरागी काइँलाले पुर्‍याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्नेछ,’ थाम्सुहाङले भने । 

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्यिक बहस, काव्य वाचन, पुस्तक विमोचन, अन्तर्क्रिया, सांस्कृतिक प्रस्तुतिलगायत विविध सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछन् । देश–विदेशका स्रष्टाबीच विचार आदानप्रदान र सहकार्य विस्तार गर्ने उद्देश्यसमेत राखिएको छ ।

पाँचौँ संस्करणको यो अन्तर्राष्ट्रिय साहित्य महोत्सवले इलामलाई साहित्यिक गन्तव्यका रूपमा थप स्थापित गर्दै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ । 

‘हाङयुग–जुनिता फाउन्डेसन’ ले यस वर्षदेखि ‘इलाम साहित्य महोत्सव’ मा एकजना साहित्यकार/लेखकलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्ने पनि आयोजकले बताएको छ । 

कान्तिपुर

Link copied successfully