मंगलबार ‘काब्यिक अनुष्ठान’ गरेर सकिने भेलाले भरतपुर घोषणापत्र जारी गर्ने आयोजक भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले बताए ।
What you should know
चितवन — पालिकाहरूमा गठन भएका प्रजा प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरूको भेला सोमबार भरतपुरमा सुरु भएको छ । साहित्य, कला, संस्कृतिको उत्थानका लागि पालिकाहरूले गठन गरेको यस्ता प्रतिष्ठानको हालको अवस्था, समस्या र आउँदा दिनमा लिनुपर्ने नीति लगायतका विषयमा भेलामा छलफल हुने र निचोडका रूपमा भरतपुर घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।
भरतपुर महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानले भेला आयोजना गरेको हो । भेलाको उद्घाटन गर्दै महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सिकाइ र भोगाइका बारेमा विमर्श गरेर प्रतिष्ठानलाई परिस्कृत बनाउन भेला सहयोगी हुने बताए । प्राज्ञिक कार्यमा निखार ल्याउने योजना बनाउन महानगरले सहयोग गर्ने र देशका अन्य पालिकाहरूले पनि यसबारेमा सोच्नु पर्ने उनले बताए ।
उनले भरतपुरमा आर्ट ग्यालरीसहित ‘कला ग्राम’ बनाउनका लागि महानगर १० बिघासम्म ठाउँ उपलब्ध गराउन सकारात्मक भएको र यसका बारेमा सबैले सोचेर योजना ल्याउन अपिल गरे । कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनाका उपकुलपति लालकाजी लामाले कला र साहित्यले रोजगार सिर्जनमा पनि सघाउने भएको हुँदा यसको प्रवर्द्धनमा पालिकाहरू सकारात्मक हुनुपर्ने बताए ।
युवाहरूको आवश्यकता बुझेर पछिल्लो समय पालिकाहरूले खेलकुदका क्षेत्रमा राम्रो काम गर्दै आएको तर सांस्कृतिक र बौद्धिक वर्गका लागि ध्यान नदिएको उनले गुनासो गरे । ‘पालिकाहरूले प्रतिष्ठानहरूलाई सवल बनाउनु भनेको खर्च हैन समाज राम्रो बनाउन गरेको लगानी हो भन्ने कुरा बुझाउन हामीले नै बौद्धिक तरिकाले अभियान चलाउन आवश्यक छ,’ लामाले भने ।
उनले पालिकाका प्रज्ञा प्रतिष्ठानहरूले कला, साहित्य र भाषाजस्ता सबै क्षेत्रको विकासका लागि योजना बनाएर लाग्नुपर्ने सुझाव दिए । मंगलबार ‘काब्यिक अनुष्ठान’ गरेर सकिने भेलाले भरतपुर घोषणापत्र जारी गर्ने आयोजक भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले बताए ।
