विपुल पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई संकलन गरेर पुस्तकका रूपमा ल्याएको बताए ।
What you should know
काठमाडौँ — नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलले लेखेको ‘सङ्कल्पन’ पुस्तकको मंगलबार सार्वजनिक गरिएको छ ।
पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताए । उनले जेन-जी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्दै उनले अब विगतका गल्ती नदोहोर्याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा राखे ।
पूर्वमन्त्री रिजालले लोकतान्त्रिक व्यवस्थामा सूचना प्रविधिलाई गलत मनसाय राखेर नियमन गर्ने वा प्रतिपक्षविनाको राजनीतिक प्रणालीको कल्पना गरिनु उचित नहुने बताए ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रमा जिम्मेवारीमा रहेका सबै थप जिम्मेवार हुनुपर्नेमा जोड दिँदै जनताले अनुभूत हुने गरी लोकतन्त्रलाई आत्मसात गरे । उनले पाखरेलद्वारा प्रकाशित पुस्तकले अखबारी लेखनले पनि विचार निर्माण गर्न सक्छ र कृति बन्न सक्छ भन्ने दृष्टान्त दिएको बताए ।
वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘सङ्कल्पन’ पुस्तक लेखरूको संग्रह मात्रै नभएर समयको दस्तावेज पनि भएको टिप्पणी गर्दै युवाहरूको भावना र लोकतन्त्रको सबलीकरणबारे लेखकले दूरदृष्टि प्रस्तुत गरेको बताइन् ।
लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई संकलन गरेर पुस्तकका रूपमा ल्याएको बताए । पुस्तकको प्रकाशन गोरक्ष राष्ट्रिय दैनिकले गरेको हो ।
