लोकसंस्कृतिका अभियन्ता हरिबहादुरलाई लाेकगीत प्रतिष्ठानकाे सम्मान

प्रतिष्ठानले पुतलीबजार नगरपालिका–१४ लामागेस्थित पाणिनी आश्रममा मनाएको २५ औं राष्ट्रिय लोक दोहोरी दिवसका अवसरमा दर्जीलाई सम्मान गरिएको हो ।

फाल्गुन २९, २०८२

प्रतीक्षा काफ्ले

Folklore Foundation honors folk culture activist Hari Bahadur

स्याङ्जा — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति स्याङ्जाले लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै पुतलीबजार नगरपालिका-१४ निवासी पञ्चेबाजा कलाकार हरिबहादुर दर्जीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले २५ औं राष्ट्रिय लोक दोहोरी दिवस पुतलीबजार नगरपालिका–१४ लामागेस्थित पाणिनी आश्रममा मनाएको थियो । सोही अवसरमा दर्जीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले ७० वर्षीय दर्जीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनले लोकसंस्कृति इतिहासको संरक्षण भएको उल्लेख गर्दै इतिहासलाई भुल्न नहुने बताए । सो क्रममा उनले सोही क्षेत्रका सर्जक रमेश विजीलाई पनि स्मरण गरे ।

प्रतिष्ठान केन्द्रको नेतृत्व सम्हालेका विजी हाल वैदेशिक रोजगारीका लागि अष्ट्रेलियामा रहेका छन् । प्रतिष्ठानकाे राष्ट्रिय महाधिवेशन गर्नुपर्ने बताउदै आगामी नेतृत्व पनि स्याङ्जालीले नै गर्ने दाबी गरे ।

स्याङ्जाली कलाकारहरूको राष्ट्रियस्तरमै उल्लेखनीय उपस्थिति रहेको उल्लेख गर्दै उनले इतिहास भुल्न नसकिने बताए । दर्जी 'लामागे पञ्चेबाजा समूह'का संयोजक हुन् । कलाकारका रूपमा लामोसमयदेखि सक्रिय रहँदै आएका उनले विभिन्न सांस्कृतिक कार्यक्रम तथा लोकदोहोरी क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन् । उनले नेपाली लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठान स्याङ्जाका अध्यक्ष जगत गौडेलले बताए ।

कार्यक्रमका अवसरमा प्रतिष्ठानले लोकसंस्कृतिको जगेर्ना, कलाकारको सम्मान तथा नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आश्रमलाई २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुका साथै वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा नाचगानसहित सांस्कृतिक प्रस्तुति दिँदै सहभागीलाई मनोरञ्जन प्रदान गरिएको थियो । 

प्रतीक्षा

Link copied successfully