तीन महादेशका केही तरङ्ग विमोचित 

पुस्तकको विषयवस्तु, भाषा शैली आदिबारे समीक्षक राजकुमार बानियाँले आफ्नो धारणा राखेका थिए ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Some waves from three continents released

काठमाडौँ — लेखक पशुपति घिमिरेको नविनतम नियात्रा कृति तीन महादेशका केही तरङ्ग लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच प्राडा गोविन्दराज भट्टराई, विश्व साइकल यात्री पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ, लेखक-पशुपति घिमिरे, प्रकाशक- पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र कवि प्रह्लाद पोखरेलले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।

पुस्तकको विषयवस्तु, भाषा शैली आदिबारे समीक्षक राजकुमार बानियाँले आफ्नो धारणा राखेका थिए । 'जहाज नचढी, टिकट भिसा केही नगरी यो पुस्तकले पाठकलाई विभिन्न ठाउँ घुमाउनेछ,' बानियाँले भने, 'यो पुस्तक इतिहास, भाषा, संस्कृति र मानवीय संवेदनाले भरिपूर्ण छ ।’'

भट्टराईले नियात्रा लेखनको क्षेत्रमा तीन महादेशका केही तरङ्ग एक उल्लेखनीय कृति भएको बताए । लेखक पुगेका धेरै ठाउँमा आफू पनि पुगेको बताउँदै भट्टराईले ग्रीसको गर्मी र सुकरातका पाइलाका डोबहरू शीर्षक नियात्रामा लेखक घिमिरेका छोराछोरीले ग्रीसका ढुंगा बोकेजस्तै आफूले पनि ग्रीसबाट ल्याएको ढुंगा देखाउँदै वातावरणलाई हाँसोमय बनाएका थिए ।

विशिष्ट अतिथि पुष्कर शाहले ननफिक्सनभन्दा फिक्सनलेख्नेहरू विशेष भए पनि ननफिक्सनको पनि आफ्नै महत्व रहेको बताए । शाहले भने-अक्षर मार्फत् संसार घुमाउन सक्नु ठूलो कुरा हो । लेखक घिमिरेले विशिष्ट महानुभावहरूमाझ आफ्नो कृति विमोचन गर्न पाउनु सौभाग्यको विषय भएको बताए । राजधानीको एक होटलमा सम्पन्न सो समारोहमा करिब चार दर्जन साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

कान्तिपुर

Link copied successfully