अनुवाद, नेपाली साहित्यको ‘विश्व पासपोर्ट’

अनुवाद समाज नेपाल (एसटीएन) ले आयोजना गरेको मासिक भर्चुअल शृङ्खला ‘अनुवाद विमर्श’को दोस्रो कडीमा वक्ता डा. नवराज न्यौपानेले अनुवादलाई नेपाली साहित्यको ‘विश्वव्यापी पासपोर्ट’का रूपमा व्याख्या गर्दै यस क्षेत्रको गुणस्तर उकास्न आग्रह गरेका हुन् ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Translation, the 'world passport' of Nepali literature

काठमाडौँ — नेपाली साहित्यलाई विश्वमञ्चमा स्थापित गर्न स्तरीय अनुवाद अपरिहार्य रहेको विषयमा प्राज्ञिक बहस सुरु भएको छ। अनुवाद समाज नेपाल (एसटीएन) ले आयोजना गरेको मासिक भर्चुअल शृङ्खला ‘अनुवाद विमर्श’को दोस्रो कडीमा वक्ता डा. नवराज न्यौपानेले अनुवादलाई नेपाली साहित्यको ‘विश्वव्यापी पासपोर्ट’का रूपमा व्याख्या गर्दै यस क्षेत्रको गुणस्तर उकास्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कार्यक्रममा डा. न्यौपानेले आफ्नो विद्यावारिधि (पीएचडी) अनुसन्धानमा आधारित ११ चरणीय ‘आइपिपी’ मोडेल सार्वजनिक गरेका थिए । उनका अनुसार अनुवाद केवल भाषिक रूपान्तरण नभई सिद्धान्त र अभ्यासको संयोजन हो। ‘अनुवाद गरिसकेपछि कृतिलाई केही समय ‘ओथारो’ राखेर पुनः परीक्षण गर्दा मात्र त्यसले पूर्णता पाउँछ,” उनले भने।

विमर्शका क्रममा सांस्कृतिक सन्दर्भ बोकेका शब्दहरूको अनुवाद सबैभन्दा जटिल चुनौती हुने उनको भनाइ थियो। ‘अग्नि परीक्षा’, ‘सातु’, ‘घुम’ र ‘लाहुरे’ जस्ता शब्दले नेपाली समाजको ऐतिहासिक, धार्मिक र सामाजिक पृष्ठभूमि बोकेको उल्लेख गर्दै उहाँले शब्दको सामान्य अर्थभन्दा पर पुगेर त्यसको सांस्कृतिक गहिराइ बुझ्नुपर्ने धारणा राखे । ‘अनुवादकले पर्यायवाची मात्र खोज्नु पर्याप्त हुँदैन, त्यस शब्दले बोकेको सभ्यता र संवेदनालाई पनि समेट्नुपर्छ,’ उनले स्पष्ट पार्दै भने । 

स्तरीय अनुवादको अभावकै कारण नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सम्मानहरू प्राप्त गर्न नसकेको टिप्पणी गर्दै उनले नेपाली निबन्ध, कथा र कवितालाई व्यवस्थित ढङ्गले विश्वबजारमा लैजानुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमको अन्त्यमा उनले वाचन गरेको  ‘अनुवादक’ शीर्षकको कविताले वातावरणलाई भावुक बनाएको थियो। अनुवादकलाई मोती खोज्ने गोताखोरसँग तुलना गरिएको उक्त कविताले सहभागीहरूबाट प्रशंसा पायो।

कार्यक्रमको समापनमा अनुवाद समाज नेपालले डा. न्यौपानेको योगदानको कदर गर्दै डिजिटल प्रशंसापत्र प्रदान गरेको थियो। आयोजकले गुणस्तरीय अनुवादमार्फत नेपाली साहित्यलाई विश्वसामु स्थापित गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

कान्तिपुर

Link copied successfully