इला शर्मा : नारी संघर्षका स्मृतिहरू लोकार्पण 

पुस्तकको विमोचन सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र पुस्तकका सम्पादक डा. अलका आत्रेय चूडालले गरेका थिए ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Ila Sharma: Memories of women's struggle unveiled

What you should know

काठमाडौँ — निर्वाचन आयोगकी पूर्वआयुक्त दिवंगत इला शर्माको स्मृतिमा ‘इला शर्मा नारी संघर्षका स्मृतिहरू’ पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक भएको हो । 

पुस्तकको विमोचन सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र पुस्तकका सम्पादक डा. अलका आत्रेय चूडालले गरेका थिए । कार्यक्रममा न्यायाधीश मल्लले इला शर्मा एक आँटिली र साहसी व्यक्तित्व भएको बताउँदै महिला भएकै कारण उनले भोगेका अभिव्यक्ति र देखाएको साहसको पनि स्मरण गरिन् ।

यसैगरी, पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले शर्मालाई जस्तोसुकै कठिन चूनौतीलाई पार गर्न सक्ने र सहनशील व्यक्तित्वको रूपमा सम्झिए । उनी भन्छन् ‘शर्मा बहुप्रतिभाशालीका साथै महिलाको प्रतिनिधित्व र सीमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर काम गर्थिन् ।' 

पत्रकार शर्माले इला शर्माले गरेको मिहिनेत, संघर्ष र योगदान सबैका लागि प्रेरणाको स्रोत रहेको बताइन् । उनले देखेका जति सपना छन् ती नीति नियममार्फत परिवर्तन ल्याउन सके सच्चा श्रद्धासुमन हुनसक्ने पनि बताइन् । पुस्तकका सम्पादक डा. चूडालले नेपाली महिलाको योगदान र इतिहास लिपिबद्ध गर्ने यो पुस्तक नेपाली नारी संघर्षको ज्वलन्त दस्तावेज भएको बताइन् । शर्माका स्मृतिहरूमा आधारित २५५ पृष्ठ लामो उक्त पुस्तकमा समावेश लेख संकलन तथा संयोजन अमृता लम्सालले गरेकी हुन् । पुस्तक अक्षर क्रिएसन्सले बजारमा ल्याएको हो ।

कार्यक्रममा प्रकाशक डा. अर्चना थापाले पुस्तकमा इला शर्माले गरेको न्याय, निष्ठा, संघर्ष र समाजप्रतिको योगदानलाई स्मरण गरिएकाे बताइन् । पूर्व निर्वाचन आयुक्त शर्माको मृत्यु २८ असार ०८२ मा भएको थियो ।

कान्तिपुर

Link copied successfully