अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट कान्तिपुरकर्मी सापकोटासहित तीन जना पुरस्कृत

नेम्वाङको सातौं स्मृति दिवसान सोमबार फिदिममा आयोजित समारोहमा पुरस्कार प्रदान गरिएको हो ।

माघ २६, २०८२

लक्ष्मी गौतम

Three people, including Kantipur journalist Sapkota, awarded with Amar Nembang Memorial Literary Award

What you should know

पाँचथर — लेखक, साहित्यकार तथा फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापना गरिएको स्वर्गीय अमर नेम्वाङ स्मृति स्रष्टा सम्मान कान्तिपुरकर्मी दिपक सापकोटासहित तीन स्रष्टालाई प्रदान गरिएको छ ।

नेम्वाङको सातौं स्मृति दिवसको अवसरमा फिदिममा आयोजित समारोहमा सोमबार पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेमा सापकोटासहित कवि देवेन्द्र सोक्तेन र साहित्यकार मलिसा याक्थुम्बा छन् ।

कार्यक्रममा स्रष्टा त्रयलाई प्रमुख अतिथि स्रष्टा एवं कांग्रेस केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङसहितका अतिथिले नगद पुरस्कार र कदर पत्र प्रदान गरे । पुरस्कार रासी जनही नगद ५० हजार रुपैयाँ छ । 

पत्रकार सापकोटाको ‘लोकेशन’ नामक पुस्तक र ‘निर्बन्ध मोन्ताज’ नामक निवन्ध संग्रह प्रकाशित भएका छन्। अर्का स्रष्टा सोक्तेन कविता लेखनसँगै साहित्यका विभिन्न विधामा कलम चलाइरहेका छन् भने याक्थुम्बा लिम्बू साहित्यका लेखनमा सक्रिय छन् ।

यसअघि  उक्त पुरस्कार कृष्ण धरावासी, स्वप्निल स्मृति, श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा.गोविन्दराज भट्टराई, बीर नेम्बाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, बिमला तुम्खेवा र गिरिराज बास्कोटालाई प्रदान गरिसकेको छ ।

नेम्वाङको सातौं स्मृति दिवसका अवसरमा फाल्गुनन्द गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत तीन छात्रछात्रालाई जनही नगद १० हजार राशीको छात्रबृत्ति प्रदान गरिएको छ । सोही कार्यक्रममा गत असोजमा बाढीपहिरोबाट प्रभावित भएका ६ परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत वितरण पनि गरिएको छ ।  

पुरस्कार स्वर्गीय अमर नेम्वाङको स्मृति दिवसको अवसर पारेर हरेक वर्ष माघ २६ गते प्रदान गरिँदै आएको आयोजक अमर नेम्वाङ स्मृति प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले बताए । 

लेखक तथा साहित्यकारका रुपमा स्थापित फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष अमर नेम्वाङको २०७५ माघ २६ गते गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दागर्दै हृदयघात भएर निधन भएको थियो । अमर नेम्वाङ स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको हो ।  

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully