भोजपुरी साहित्यको क्षेत्रमा सक्रिय लेखक तथा कविहरूलाई नयाँ मन्च प्रदान गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।
पर्सा — साहित्यकार दिनेश गुप्ताले भोजपुरी साहित्यमा नयाँ प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले दिनेश गुप्ता प्रतिभा पुरस्कारको घोषणा गरेका छन् ।
गुप्ताका अनुसार उक्त पुरस्कार भोजपुरी साहित्य क्षेत्रमा सक्रिय लेखक तथा कविहरूलाई नयाँ मन्च प्रदान गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
गुप्ताले साहित्यले आफूलाई दिएको पहिचानको ऋण तिर्ने सानो प्रयासस्वरूप यो पहल गरिएको बताए । उनले यो पुरस्कार आफ्ना तर्फबाट भोजपुरी साहित्यमा योगदान पुर्याएका लेखक तथा कविहरूलाई दिएको प्रेमपूर्ण उपहार भएको उल्लेख गरे ।
उनका अनुसार पुरस्कारले समाजलाई नयाँ दृष्टिकोण दिनुका साथै लेखनमा सक्रिय भए पनि अझ व्यापक मान्यता पाउन बाँकी रहेका लेखक–कविलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । यस पहलमार्फत लेखकहरूले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाउने र साहित्यिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।
पुरस्कार छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइने जनाउँदै गुप्ताले विजेताको छनोट तीन सदस्यीय साहित्यिक विद्वान्हरूको टोलीबाट गरिने जानकारी दिए । उक्त टोलीमा आफू स्वयं पनि सहभागी रहने उनले बताए । छनोट लेखनको गहिराइ, नवीनता, सामाजिक सन्देश र संवेदनशीलताका आधारमा गरिनेछ ।
यस पुरस्कारलाई लिएर साहित्यकार र पाठकबीच उत्साह बढिरहेको बताउँदै गुप्ताले पुरस्कारको औपचारिक शुभारम्भ फागुनभित्रै हुने जानकारी दिए । यस्ता पहलले भोजपुरी साहित्यमा नयाँ ऊर्जा थप्ने विश्वास उनले व्यक्त गरे ।
भोजपुरी, नेपाली र हिन्दी भाषामा करिब एक दर्जन पुस्तक प्रकाशित गरिसकेका गुप्ता वीरगन्जका स्थायी बासिन्दा हुन् । उनी काठमाडौंमा व्यापारसँगै साहित्य सेवामा सक्रिय छन् ।
