पुरस्कार सापकोटासहित कवि देवेन्द्र सक्तेन र साहित्यकार मलिशा याक्थुङ्बालाई प्रदान गरिनेछ ।
पाँचथर — फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्वाङको स्मृतिमा स्थापित 'स्वर्गीय अमर नेम्वाङ स्मृति पुरस्कार' कान्तिपुरकर्मी दीपक सापकोटासहित तीनजनालाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनोट समितिको आइतबार बसेको बैठकले सापकोटासहित कवि देवेन्द्र सक्तेन राई र साहित्यकार मलिशा याक्थुङ्बालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अमर नेम्वाङ स्मृति प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार यस वर्ष वितरण गर्न लागिएको पुरस्कार सातौं संस्करणको हो ।
पुरस्कारको राशि जनही ५० हजार रुपैयाँसहित कदर पत्र रहेको छ ।
कान्तिपुरकर्मी सापकोटा शनिबारीय परिशिष्टांक 'कोसेली'का संयोजक पनि हुन् । उनको सम्पादनमा निबन्धसंग्रह 'निर्बन्ध मोन्टाज' र निबन्धसंग्रह 'लोकेसन' प्रकाशनमा छन् । उनी साहित्यिक मासिक 'पाण्डुलिपि'का सम्पादक थिए ।
यस्तै पुरस्कृत गरिने सक्तेन र याक्थुङ्बा पनि कविता र लेखनमा सक्रिय छन् ।
यसअघि उक्त पुरस्कार कृष्ण धरावासी, स्वप्निल स्मृति, श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा.गोविन्दराज भट्टराई, वीर नेम्बाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, बिमला तुम्खेवा र गिरिराज बास्कोटालाई प्रदान गरिएको थियो ।
पुस्कार स्वर्गीय अमर नेम्वाङको स्मृति दिवसको अवसरमा हरेक वर्ष माघ २६ गते प्रदान गरिन्छ ।
