मधेश विश्वविद्यालयको मध्यम आकारको परिसर कल्पनालाई हेर्न र सुन्न आएका दर्शक र श्रोताको भीडले खचाखच भरिएको थियो ।
पर्सा — असम मूलकी भोजपुरी गायिका कल्पना पटवारीले शनिबार वीरगन्जमा आफ्ना प्रशंसकलाई आफ्नो स्वरको मिठासले लठ्याइन् । यहाँ जारी दोस्रो मधेश महोत्सवको समापन उनको सांगीतिक प्रस्तुतिबाट गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।
शनिबार बिहानसम्म साबिकको कार्यक्रम स्थल यहाँस्थित पुरानो बस पार्कमा प्राविधिक कारणले कार्यक्रम हुन नसक्ने भएपछि आयोजकले महोत्सव स्थलमै कल्पनाको सांगीतिक कार्यक्रम आयोजन गरेका थिए ।
मधेश विश्वविद्यालयको मध्यम आकारको परिसर कल्पनालाई हेर्न र सुन्न आएका दर्शक र श्रोताको भीडले खचाखच भरिएको थियो । साँझ करिब साढे ६ बजे कालो सारीमा सजिएर मन्चमा आएकी भोजपुरी सिने जगत्की सफल गायिका करिब दुई घण्टा स्टेजमा अनवरत प्रस्तुत भइन् । दर्शकदीर्घाबाट अपार माया र समर्थन पाएर हौसिएकी उनले एक दर्जन बढी गीत गाइन् । छठ पर्वको आफ्नो चर्चित भजन एवम् लोकगित ‘उग उग हे सुरुज देव..’ बाट गाउन सुरु गरेकी उनले त्यसपछि फागुको चर्चित गित ‘ए सिया निकले अवधवा...’ पनि गाइन् ।
त्यसपछि ‘ए बलम जी...’, ‘रेलिया रे....’, ‘बाबा दिहले टिकवा...’, ‘ना हमसे भंगिया पिसाइ...’, ‘कौन दिशा मे लेके चला रे बटोहिया..’, ‘देखतानी मिठी मिठी मुस्की तु मार तार...’ आदि गाएकी थिइन् । आफ्नै सांगीतिक टोली लिएर आएकी उनले मन्चबाटै दर्शक दीर्घासँग तालमेल मिलाउन सफल भएपछि दर्शक पनि उनका गीत सुन्न एकाग्र भएर बाँधिएका थिए ।
