सहित्यिक पत्रिका 'हाम्रो सिर्जना'द्वारा शुक्रबार नारायणगढमा आयोजित कार्यक्रममा शर्मा र वाग्ले सम्मानित भएका हुन् ।
चितवन — सहिदका बारेमा पुस्तक र लेखहरू लेख्दै आएका चितवनका अनिल शर्मा विरही र गोरखाका कृष्ण वाग्ले रूपेश शुक्रबार सहिद दिवसको अवसरमा सम्मानित भएका छन् ।
साहित्यिक पत्रिका 'हाम्रो सिर्जना'द्वारा शुक्रबार नारायणगढमा आयोजित कार्यक्रममा शर्मा र वाग्ले सम्मानित भएका हुन् ।
अनिल शर्मा विरहीले सहिद परिचयमाला भाग १ र २ लेखेका छन् । साथै, सहिदका बारेमा उनका दुई दर्जनभन्दा बढी लेख रचना विभिन्न पत्रपत्रिका, अनलाइन सञ्चार माध्यममा प्रकाशित छन् । सहिद प्रतिष्ठान गठन र विभिन्न ठाउँमा सहिदका सालिक राख्न र पार्कहरू बनाउन उनले सहयाेग गर्दै आएका छन् ।
कृष्ण वाग्ले रूपेशले गोरखा र जनयुद्ध, संघर्ष र बलिदान, सहिद गाथा तथा सहिद र बेपत्ता योद्धा जस्ता पुस्तकहरू लेखेका छन् । कार्यक्रममा इतिहास विषयका अवकासप्राप्त प्रध्यापक कर्णबहादुर बानियाँको समीक्षा संग्रह 'अलग कृति, फरक प्रवृत्ति' को पनि विमोचन भएको छ ।
कार्यक्रममा सहिदका पृष्ठभुमिका बारेमा रमाकान्त सापकोटाले मन्तव्य दिएका थिए । जेन-जी आन्दोलनमा सहिद भएका विद्यार्थीका बारेमा अझै गहन खोजबिन आवश्यक रहेको उनको भनाइ थियो ।
