साहित्य, ललितकला, संगीत र पत्रकारितामा योगदान पुर्याउने ६ जना स्रष्टाको नाम सार्वजनिक गरिएको हो ।
काठमाडौँ — नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार विजेताको नाम सार्वजनिक गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा शुक्रबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।
अमूल्य राष्ट्रिय कलाश्री सम्मानका लागि वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई चयन गरिएको छ । त्यस्तै राष्ट्रिय कलाश्री पुरस्कार प्रतिभाशाली कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
यसै गरी स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक निमेष निखिललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक राजेश खनाललाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मिथिला कलाका साधक चित्रकार एससी सुमन तथा पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि रहेको छ ।
उक्त पुरस्कार तथा सम्मान आगामी फागुन ४ गते काठमाडौँको पर्यटन बोर्डमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कार १७ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।
