आधुनिक गीत लेखनदेखि चलचित्र क्षेत्रमा समेत महत्त्वपूर्ण र सफल गीत सिर्जना गरेका खरेलको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
हेटौंडा — भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल, मकवानपुरले यस वर्षको ‘बिजुलीमाया वनः अन्तर्राष्ट्रिय संगीत पुरस्कार, २०८२’ गीतकार किरण खरेललाई प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले बिहीबार एक समारोहबीच एक लाख राशिको उक्त पुरस्कार गीतकार खरेललाई प्रदान गरेका हुन् ।
विसं २०१४ देखि ‘ए दूरका सितारा...’ बोलको गीतबाट संगीत क्षेत्रमा सक्रिय गीतकार खरेलले अहिलेसम्म ७ सयभन्दा बढी गीत लेखिसकेका छन् । आधुनिक गीत लेखनदेखि चलचित्र क्षेत्रमा समेत महत्त्वपूर्ण र सफल गीत सिर्जना गरेका खरेलको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ ।
यो पुरस्कारबाट हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुछेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा र नीर शाह सम्मानित भइसकेका छन् ।
उद्यमी तथा व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमा बिजुलीमाया वनको सम्झनामा २०६४ सालमा पुरस्कारको स्थापना गरेका थिए । ५० हजार रुपैयाँबाट सुरु गरिएका पुरस्कार राशि २०६७ सालदेखि एक लाख पुर्याइएको हो । कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान गर्दै २०५९ भदौ ७ गते भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल स्थापना गरिएको थियो ।
