फेस्टिभलमा आधा दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ ।
नयाँ दिल्ली — किताब यात्रा फाउन्डेसनको आयोजनामा हुने 'किताब जात्रा'को विश्व यात्रा अन्तर्गतको पाँचौं संस्करण १५ फेब्रुअरीमा भारतको नयाँ दिल्लीस्थित पीएचडी हाउसमा हुने भएको छ ।
‘किताबको अक्षर वा शब्द थाक्दैनन् । तर, मानिस थाक्छ । कथा भने हिँडिरहन्छ । यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ किताब जात्रा फेस्टिभलका निर्देशक ऋषिराम अधिकारीले भने । समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि अनि नेपाली र नेपाली भाषी रहेका ठाउँहरुमा किताब जात्रालाई निरन्तरता दिन चाहेको उनको भनाइ छ ।
फेस्टिभलमा आधा दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रममा नेपाल र भारतका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधिलगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ ।
महोत्सवमा नेपाली किताबको प्रदर्शनी समेत रहनेछ ।
साहित्यकार नयन राज पाण्डे, अमर न्यौपाने, सञ्चारकर्मी टीकाराम यात्री, समा थापा, लेखक अतुल के ठाकुर, अनुराग बस्नेत,
लेखक डा. श्रीधर खनाललगायत अन्य नेपाली र भारतीय लेखक र समालोचकहरुको उपस्थिति रहने छ ।
महोत्सवमा कवि विप्लव प्रतीकको काव्यिक प्रस्तुति र स्ट्यान्ड अप कमेडियन प्रभात लामाको प्रस्तुति रहनेछ ।
साहित्यकारद्वय नयनराज पाण्डे र अमर न्यौपानेको नेपाली भाषाबाट अंग्रेजी भाषामा अनुवाद गरेको किताबको दिल्ली विमोचन कार्यक्रम पनि रहेको छ ।
