संगीतकार आभासले छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा आफ्नो सांगीतिक टिम उत्साहित भएको बताए ।
काठमाडौँ — कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटी शृङ्खलामा भूषिता वशिष्ठले छन्द कविता सुनाउने भएकी छन् ।
भूषिताले सात वर्षअघि पनि पलेँटीमा छन्द कविता सुनाएकी थिइन् । भूषिताले लेखनाथ पौडेल, सोमनाथ सिग्द्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराई तथा आफ्नै छन्द कविताहरू सुनाउनेछिन् ।
भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित बनाउने आयोजकले बताएका छन् । केही वर्षअघि अमेरिकाबाट ‘क्रिएटिभ राइटिङ’को अध्ययन सकेर आएकी भूषिता हाल धरानमा बस्छिन् । अङ्ग्रेजी भाषाका साथै संस्कृतमा पनि रुचि राख्ने उनी पलेँटीका निम्ति काठमाडौं आइपुगेकी छिन् । नेपालयमा पलेँटीका सङ्गीतकर्मीहरूसँग उनको सहकार्य चलिरहेको छ ।
‘पलेँटी मेरा लागि आराध्य व्यासासन थियो । त्यसलाई न्याय गर्ने ल्याकत ममा न हिजो थियो, न आज । परन्तु, यो सानिध्यले मलाई काव्य साधना गर्न अझ बल दियो । म जति धन्य भएँ, त्यसको अंश मात्र पनि पोख्न पाए, यो काव्यको वसन्त–स्नान सार्थक हुने थियो,’ भूषिता भन्छिन् ।
संगीतकार आभासले छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा आफ्नो सांगीतिक टिम उत्साहित भएको बताए । उनले भने, ‘झण्डै सात वर्षअघि गरिएको छन्द–पलेँटीको प्रभावले यस विधाप्रति अझै आकर्षण बढेको अनुभूति हुन्छ ।’
