बुढाथोकी, भट्टराईलाई र चटौतलाई अन्तर्दृष्टि पुरस्कार

अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Insight Award to Budhathoki, Bhattarai and Chataut

What you should know

काठमाडौँ — तीन विधामा २०८२ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ । शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, विद्यार्थी प्रशिखा भट्टराईलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार र पत्रकार आरती चटौतलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

शिक्षकको शिक्षण–सिकाइ क्रियाकलाप, सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलाई आधार मानी दृष्टिविहीन विद्यार्थीको प्रत्यक्ष छनोटअनुसार काठमाडौँ कीर्तिपुरको ल्याबोरेटरी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको अन्तर्दृष्टि पुरस्कार वितरण समितिले जनाएको छ । 

यसैगरी, अपाङ्गता नभएका विद्यार्थीले अपाङ्गता भएका साथीहरूसँग देखाएको सहयोगी भूमिका, व्यवहार र सिकाइको आदान–प्रदानलाई आधार मानी सोही विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रसिखा भट्टराईलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको समितिको भनाइ छ । 

पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोण प्रवर्द्धन गर्दै खोज, अन्वेषण तथा उनीहरूका असीमित सम्भावना र अवसरको पहिचानमार्फत समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने नेपाल टेलिभिजनमा कार्यरत पत्रकार आरती चटौतलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

कीर्तिपुरको काठमाडौँको ल्याबोरेटरी माध्यमिक विद्यालयको परिसरमा आयोजित अन्तर्दृष्टि पुरस्कार वितरण समारोहमा किर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलको प्रमुख आतिथ्यतामा पुरस्कार प्रदान गरियो ।  
अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा पुरस्कृत शिक्षक क्षेत्रबहादुर बुढाथोकीले यस पुरस्कारले आफूलाई दृष्टिविहीन विद्यार्थीको शैक्षिक विकासमा अझ बढी जिम्मेवारीबोध सहित मिहिनेत गर्न प्रेरित गरेको बताए । त्यसैगरि प्रशिखा भट्टराईले आफुलार्इ यो पुरस्कारले खुसी मिलेको र सदा दृष्टिसम्बन्धी अपाङ्गता भएका साथीहरूसँग सहकार्य गरिरहने  बताइन् ।
पत्रकार आरती चटौतले यो पुरस्कार व्यक्तिगत उपलब्धि भन्दा पनि सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको सम्मान भएको र आफू त्यसको माध्यममात्र भएको धारणा व्यक्त गरिन्।
विद्यालयका प्राचार्य लाक्पा शेर्पाले स्वागत मन्तव्यका क्रममा यस विद्यालयमा कार्यरत रहँदा आफू समावेशी शिक्षामा विद्यावारिधि गर्न प्रेरित भएको उल्लेख गर्दै दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूको स्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
अन्तर्दृष्टि पुरस्कारले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणमा टेवा पुर्याउनुका साथै अपाङ्गता नभएका व्यक्तिहरूलाई पनि अपाङ्गताको सवालमा थप जिम्मेवार भई काम गर्न प्रेरित गर्ने कृष्ण मान डङ्गोलले विश्वास व्यक्त गरे।
पुरस्कार स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै दृष्टिविहीन विद्यार्थीको क्षमतामा शङ्का गर्नुको सट्टा शिक्षकहरूले समतामूलक शिक्षण विधि र समावेशी सिकाइ अभ्यासमार्फत सिकाइ प्रक्रियामा कोही पनि नछुटून् भन्नेमा सजग हुनुपर्नेमा अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले जोड दिए । 
प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको राशि २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको १० हजार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि १५ हजार छ ।  

कान्तिपुर

Link copied successfully