माघ ११ देखि तेस्रो बृहत् बालसाहित्य महोत्सव

बालसाहित्यसम्बन्धी कार्यपत्र, बालसरोकारसम्बन्धी विभिन्न सत्र, पुस्तक विमोचन, अन्तर्क्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षण रहनेछन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Third Comprehensive Children's Literature Festival from Magh 11

काठमाडौँ — तेस्रो बृहत् बालसाहित्य महोत्सव माघ ११ देखि हुने भएको छ । नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा पाटन दरबार संग्रहालयमा तीनदिने महोत्सव हुने भएको हो ।

महोत्सवमा बालसाहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल, बालसाहित्यका पुस्तक विमोचन, अन्तर्क्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षण रहनेछन् ।

महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार-कलाकारको सहभागितामा नृत्य,गायन, नाटक, कविता/कथावाचन लगायतका कार्यक्रम पनि हुनेछ ।

महोत्सवमा बंगलादेशबाट आउने वरिष्ठ साहित्यकार प्राडा मिजानुर रहमान कल्लोलले 'किनोट स्पिच' दिने समाजका अध्यक्ष विजयराज आचार्यले बताए ।

‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य,पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परस्थिति’, ‘सम्पदा, संस्कृति र बालबालिका’ विषयमा सत्र सञ्चालन हुनेछन् ।

कार्यपत्रहरुमा डा. तीर्थबहादुर श्रेष्ठको ‘बालसाहित्यमा विज्ञान’, प्रा. भिक्टर प्रधानको ‘बालसाहित्यको अबको बाटो’, प्राडा. मिजानुर रहमान कल्लोलको ‘फोकलोर टु फ्युचर : ब्लेन्डिङ बंगलादेशी कल्चर विथ साइन्स फिक्सन’, गौरी प्रधानको ‘बालसाहित्यमा बाल अधिकार’ रहेका छन् ।

रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठले ‘बाल साहित्यसँगै बाल रंगमञ्च र बाल चलचित्र’का विषयमा प्रस्तुति दिनेछन् भने रंगकर्मी पुष्पराज अवस्थी र कलाकार कृष्णभक्त महर्जनको संयोजनमा नाट्य तथा कला प्रस्तुति रहनेछ । वरिष्ठ कलाकार प्रदीप बम्जन, रोशनसिंह क्षितिज, नरहरि प्रेमीलगायतको सांगीति प्रस्तुति पनि रहनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully