‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ पत्रकारिता विभाग प्रमुख नेपाललाई प्रदान गरिने

त्यसैगरी ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ पत्रकार चाँदनी हमाल र स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुस २९, २०८२

रासस

'Govinda Biyogi Journalism Award-2082' to be presented to Head of Journalism Department Nepal

काठमाडौँ — यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख जगत नेपाललाई प्रदान गरिने भएको छ । 

सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएको सो पुरस्कार विभागका प्रमुख नेपाललाई प्रदान गर्ने निर्णय भएको समाजका महासचिव श्याम डोटेलले जानकारी दिए । सो पुरस्कारको राशि २५ हजार एक रुपैयाँ रहेको छ । 

त्यसैगरी ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ पत्रकार चाँदनी हमाल र स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय गरिएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा गोरखापत्र दैनिकमा कार्यरत हमाल निरन्तर कलम चलाउँदै आएका छन् । 

‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका मानन्धरलाई नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको महासचिव डोटेलको भनाइ छ । पुरस्कारको राशि जनही १५ हजार एक रुपैयाँ रहेको छ । 

समाजको बैठकले आगामी माघ ३ गते शनिबार सुइरेचौर, शिवपुरी–७ स्थित संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने निर्णय गरेको छ । 

रासस

Link copied successfully