श्रेष्ठका रचनाका चार भाग र नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहाससम्बन्धी एक गरी पाँच पुस्तकको कम्बो प्याकलाई लिपी बुक्सले प्रकाशन गरेको हो।
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचारहरू समेटिएको पुस्तक ‘पुष्पलालका छानिएका रचना’ प्रकाशित भएको छ।
श्रेष्ठका रचनाका चार भाग र नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहाससम्बन्धी एक गरी पाँच पुस्तकको कम्बो प्याकलाई लिपी बुक्सले प्रकाशन गरेको हो। लिपी बुक्सका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले पुष्पलाललाई एक सिद्धहस्त लेखक, दार्शनिक तथा दूरदर्शी राजनेताका रूपमा स्मरण गर्दै यो पुस्तक ऐतिहासिक दस्तावेजजस्तै भएको बताए। उनले नेपाल कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि बुझ्न र नेपाली राजनीतिक चिन्तनको विकासक्रम तथा कम्युनिष्ट आन्दोलनको इतिहासदेखि पुष्पलालको वैचारिकी बुझ्न पुस्तक उपयोगी हुने बताए।
यी पुस्तकहरूको संकलन तथा सम्पादन पुष्पलाल अध्ययन समाजले गरेको हो। समाजले पुष्पलालका विभिन्न कालखण्डका लेख, दस्तावेज र ऐतिहासिक सामग्रीलाई व्यवस्थित रूपमा प्रस्तुत गर्दै उहाँको वैचारिक योगदानलाई अभिलेख गर्ने प्रयास गरेको जनाएको छ।
वि.सं. १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मेका पुष्पलालको निधन ५४ वर्षको उमेरमा २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भएको थियो। पुष्पलालले तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षको नीतिलाई अवलम्बन गर्दै पार्टी निर्माणमा जुटेका थिए।
