सारंगीको धुनसँगै कविताको सुर

कविताका हरफहरू श्रोताको मनसम्म पुगिरहँदा बीच–बीचमा प्रस्तुत हुने सारंगी, मादल र बाँसुरीको सुरले कार्यक्रमलाई झन् रंगीन बनाइरहेका थिए ।

पुस १७, २०८२

पर्वत पोर्तेल

The melody of the sarangi accompanies the melody of the poem.

What you should know

झापा — नयाँ वर्ष २०२६ को अघिल्लो साँझ साहित्य र संगीतले झन् जीवन्त बन्यो, द लाट्टे आर्ट रेस्टुरेन्ट दमक ।  ‘पोएट्री विथ द लाट्टे’ नाम दिइएको कार्यक्रममा कफीको स्वादसँगै कविता, गजल र गीत मिसिँदा चिसो माहोल न्यानो र आत्मीय बन्यो ।

सारंगीको धुन, कविताको सुर र कफीको स्वाद एकै ठाउँमा मिसिएको यो साँझले नयाँ वर्षको सुरुआतलाई सरल, मिठासपूर्ण र सम्झनालायक बनायो । 

अग्रज कवि प्रकाश बुढाथोकी, देशु बनेम, हेमन यात्री, अज्ञात दधि, सुमन स्मारिका र सपना लिम्बुले १० कविता र चार गजल वाचन पस्किएका थिए । कविताका हरफहरू श्रोताको मनसम्म पुगिरहँदा बीच–बीचमा प्रस्तुत हुने सारंगी, मादल र बाँसुरीको सुरले कार्यक्रमलाई झन् रंगीन बनाइरहेका थिए । 

चुलाचुली तारा युसन राई र रोमन विश्वाले गीतमार्फत माहोल झनै तताए । शिव गन्धर्व र सुजन गन्धर्वको सारंगीको सुरिलो धुनले कविता र संगीतबीच सेतुको काम गरिरह्यो । सारंगीको लयसँगै श्रोता–दर्शक स्वस्फूर्त नृत्यमा सहभागी हुँदा कार्यक्रम थप जीवन्त देखिन्थ्यो । बाँसुरी वादक गणेश लाम्सोङको मधुर बाँसुरीले भने पूरै माहोललाई मन्त्रमुग्ध बनायो । 

नेपाल लिटरेरी ग्रुप दमक र किरात मुन्धुम प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय कवि तथा साहित्यप्रेमीको उल्लेखनीय उपस्थिति थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ मुनाराज शेर्मा, कवि विराट किराती, साङसेन पन्धाक, केपी घिमिरे, पुरन याक्खा, निहाङ किराती, रुमानी कुलुङ, दिलीप राई ‘सगर’, युगयोगी राई, जय मोक्तान, चन्द्र सम्फाहाम्फे, चोमु शेर्पा, उत्तम तुम्सा लगायतले कार्यक्रमलाई साहित्यिक गरिमा प्रदान गरे ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully