उत्कृष्ट महिला शिक्षकलाई ‘मीना दिदी पुरस्कार’

हरेक वर्ष प्रदान गरिने पुरस्कारको राशी ५१ हजार 

पुस १४, २०८२

माधव अर्याल

'Meena Didi Award' for the best female teacher

What you should know

पाल्पा — उत्कृष्ट महिला शिक्षकलाई मदन पुरस्कार विजेता निलम कार्की निहारिकाले ‘मीना दिदी पुरस्कार’ स्थापना गरेकी छन् ।

लेखक तथा साहित्यकार कार्कीले आफ्नी आमा मीना कार्कीको नाममा हेरक वर्ष प्रदान गरिनेगरी पुरस्कार स्थापना गरेकी हुन् ।

देशभरबाट छनोट हुने महिला शिक्षकले पाउने पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको कार्कीले बताइन् । आगामी फागुन ५ गते किसान मावि झडेवा माथागढी–४, मा हुने पुरस्कार छनोटका लागि आवेदन माग भइसकेको छ ।

मीनाकी छोरीहरू प्राध्यापक डाक्टर आरती कार्की र लेखक निलमले यो पुरस्कार स्थापना गरेका हुन् । ‘हामीले आमाको सम्मानमा यो पुरस्कार स्थापना गरेको हो,’ उनले भनिन्, ‘यसबाट शिक्षकको सम्मान मात्र नभई आमाको हरेक वर्ष सम्झना पनि हुनेछ ।’

पाल्पा झडेवाको किसान माविमा शिक्षण गर्ने मीनाको निधन २०७८ माघ २१ मा भइसकेको छ । उनले अर्घाखाँचीका साथै पाल्पाको गोठादी र झडेवामा गरी २७ वर्ष अध्यापन गराएकी थिइन् । 

इमानदार महिला शिक्षकहरूबाट छनोट गरेर वर्षमा एक जनालाई पुरस्कार दिइने उनले बताइन् । पुरस्कार पाउने शिक्षकको सिफारिस आफैंले गर्नुपर्दैन । शिक्षक स्वाभिमानी पेशाकर्मी हुने भएकोले अन्य व्यक्तिले सिफारिस गर्ने प्रावधान राखेको कार्कीले बताइन् । 

पाल्पा झडेवास्थित किसान माविका भूतपूर्व विद्यार्थीले स्वर्गीय मीनाको नाममा स्मृति ग्रन्थ ‘मिना दिदी’ प्रकाशन भएको छ । मीनाका छोरा डा. देवेन्द्र कार्की र श्रीमान् भद्रबहादुर कार्कीको २०५६ सालमा दुर्घटनामा परेर निधन भइसकेको छ । 

निहारिकाले आफ्नो पहिलो साहित्य मौन जीवन (२०५१) ग्रन्थ आमाको सञ्चय कोषको रकमबाट निकालेको बताउने गरेकी छन् ।

साहित्यकार निहारिकाले ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘हवन’, ‘ब्रेन फिभर’, ‘निलम कार्की निहारिका कविता’, ‘कागजमा दस्तखत’, ‘बेली’, ‘अर्की आइमाई’, ‘चिरहरण’, ‘योगमाया’, ‘दौपदी अवशेष’, ‘त्रिचालिस कथा’ प्रकाशित भइसकेका कृति हुन् । ‘योगमाया’ ले मदन पुरस्कार जितेको थियो ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully