भरतपुरको चौबिसकोठीमा शनिबार जेन–जीका पक्षमा कविता र नाटकसँगै संगीत पनि गुञ्जिएको हो ।
चितवन — जेन–जी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा शनिबार भरतपुर चौबिसकोठी चोकमा ‘स्वराञ्जली : सहिदहरूमा समर्पित’ कार्यक्रम सम्पन्न भयो ।
जहाँ कविता, सडक नाटक र संगीतमार्फत सहिदहरूलाई श्रद्धाञ्जली दिँदै उनीहरूले सपना देखे अनुसारको उन्नत नेपाल बनाउन आउँदो निर्वाचनमा सजग र सचेत भएर मतदान गर्न अपिल गरियो ।
कार्यक्रममा जेन–जी नेता रक्षा बमले पनि कविता सुनाइन् । उनले चितवनका कवि भूपिनले लेखेको ‘तानाशाहको कुरूप कला’ कविता पाठ गरिन् । त्यसैगरी विनिता गुरुङ, अन्जान प्रदीप, मनिष खनाल, सचिन चापागाईँ, राजन रानामगर लगायतले कविता सुनाएर जेन–जी अभिमतका पक्षमा आफूलाई उभ्याए । त्यसपछि चितवनको नाट्य संस्था ‘कर्मी चौतारी’ले सडक नाटक ‘चुकन्दर’ देखाएको थियो ।
चौबिसकोठीको पिपलको रुख तल जेन–जीका पक्षमा कविता र नाटकसँगै संगीत पनि गुञ्जियो । नेपाल आइडल छैटौँको सेकेन्ड रनरअप दर्शना गान्धारीले गीतहरू मार्फत सहिदलाई श्रद्धाञ्जली दिइन् ।
समर्पण न्यौपानेले पनि गीतमार्फत नै देशका लागि जुट्ने बेला भएको सन्देश दिए ।
जेन–जी चितवनको आयोजनामा जेनजी मुभमेन्ट एलाइन्स, नेपाल जेन–जी फ्रन्ट, र द काउन्सिल अफ जेन–जीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
