भोक कविता आन्दोलनका अभियानी कवि प्रकाश बुढाथोकीलाई ‘मुन्धुमी माङ्गेना सम्मान’

किरात मुन्धुम प्रतिष्ठान, दमक–झापाली नेपाली कविता, साहित्यिक आन्दोलन र सामाजिक चेतनाको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई परम्परागत किराती सांस्कृतिक विधिअनुसार सम्मान गरिएको हो ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

'Mundhumi Mangena Samman' to poet Prakash Budhathoki, campaigner of hunger poetry movement

What you should know

झापा — ऐतिहासिक ‘भोक कविता आन्दोलन’ का अभियानी कवि प्रकाश बुढाथोकीलाई शनिबार ‘मुन्धुमी माङ्गेना सम्मान’ प्रदान गरिएको छ ।

किरात मुन्धुम प्रतिष्ठान, दमक–झापाली नेपाली कविता, साहित्यिक आन्दोलन र सामाजिक चेतनाको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई परम्परागत किराती सांस्कृतिक विधिअनुसार सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ सुमित्रा बाङ्देल ‘चेली’ र मुनाराज शेर्माको उपस्थितिमा सम्मान गरिएको हो । सम्मान स्वरूप बुढाथोकीलाई शिरमा फेटा गुथाएपछि एक पेरुङ्गो फाक्सा (सुँगुरको मासु) र एक कटवा सिँजवा (रक्सी) अर्पण गरिएको थियो । 

बुढाथोकीले आफ्नो कविता यात्रा २०३४/३५ सालतिर सुरु गरेका हुन् । २०३९ सालमा कवि भवानी घिमिरेले झापामा सडक कविता क्रान्तिको अगुवाइ गरेपछि यहाँको साहित्यिक वातावरण थप सजीव बनेको थियो । घिमिरेकै सल्लाह र प्रेरणामा झापाबाट ‘भोक कविता आन्दोलन’ सुरु भयो, जसमा बुढाथोकी पनि सक्रिय रूपमा जोडिए । 

घिमिरेसँगको संगतपछि झापामा कविताले नयाँ ऊर्जा पाएको र त्यसले विशेषतः युवापुस्तालाई साहित्यतर्फ आकर्षित गरेको थियो । त्यस समय झापामा हिरा आकाश, कृष्ण धरावासी, दुर्गा दाहाल, लक्ष्मण ढकाल लगायतका सर्जक त्यो आन्दोलनका हिस्सा थिए । 

सात दशक उमेर पार गरिसकेका बुढाथोकी आज पनि साहित्यमा उत्तिकै सक्रिय छन् । पछिल्लो समय उनी पहिचान साहित्यका पक्षमा दृढतापूर्वक वकालत गर्दै आएका छन् । उनका सिर्जनामा रैथाने मुन्धुमी विम्ब र चेतना सशक्त रूपमा देखिन्छ ।

कार्यक्रममा प्राज्ञद्वय बाङ्देल र शेर्मासहित विराट किराती, विवश बलिभद्र कोइराला, कृष्ण काष्यप, सेलिङ केसी, देशु वनेम, दिलिप राई ‘सागर’, युग योगी राई, खजुम खेसेहाङ, निहाङ किराती, साङसेन पान्धाक, मौलश्री लिम्बु, अभागी थेगुवा, रुमानी कुरुङ, राजकुमार अनिश्चित, भिजन गुरागाईं लगायतका सर्जकहरूले कविता तथा गजल वाचन गर्दै कार्यक्रमलाई स्मरणीय बनाएका थिए ।

कान्तिपुर

Link copied successfully