साहित्यकार पैंडी इन्द्रबहादुर गुरुङको निधन

गुरुङले २०४९ सालदेखि पुस्तक प्रकाशन थालेका हुन् । उनले गुरुङ भाषा, ज्योतिष, धर्म, संस्कार र संस्कृतिसम्बन्धी एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन् ।

पुस ११, २०८२

आश गुरुङ

Literary writer Pandi Indra Bahadur Gurung passes away

What you should know

लमजुङ — गुरुङ साहित्यकार, भाषाविज्ञ तथा संस्कृतिज्ञ पैंडी इन्द्रबहादुर गुरुङको ९२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा बिहीबार राति उनको निधन भएको हो ।

लमजुङको क्व्होलासोथार गाउँपालिका–९ गिलुङ निवासी गुरुङ गुरुङ भाषा, संस्कार र संस्कृतिका गहिरा अध्येता थिए । गुरुङ समुदायमा पुरोहितलाई ‘पैंडी’ भनिन्छ ।

वि.सं. १९९१ भदौ ३१ गते बुवा शिरसुब्बा गुरुङ र आमा चर्माखु गुरुङको कोखबाट जन्मिएका गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य (२०६६–२०७०) समेत थिए । उनी पञ्चायतकालमा तत्कालीन जिल्ला पञ्चायत लमजुङका २ कार्यकाल उपसभापति रहेका थिए ।

गुरुङले २०४९ सालदेखि पुस्तक प्रकाशन थालेका हुन् । उनले गुरुङ भाषा, ज्योतिष, धर्म, संस्कार र संस्कृतिसम्बन्धी एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । उनका कृतिहरुमा तमु चि (गुरुङ ज्योतिषी), बुद्ध तथा बोन्पो क्यालेन्डर, तो ताँ सोंफु (पहिलेका तीनवटा कुरा), गुरुङ–नेपाली शब्दकोष, तमु (गुरुङ) अवस्थलको परिचय, तमु राज्य व्यवस्थाको मूल आधार नालसभा, तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन, सेर्का क्वे (सेर्गा गीत) लगायत छन् । पछिल्लो समय, ३ वर्षअघि मात्रै उनले प्रेरणा, गुरुङ पर्यावरण गीत र शिव धर्म नामक तीनवटा पुस्तक एकैसाथ प्रकाशन गरेका थिए । गुरुङ पर्यावरण गीत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको हो ।

Literary writer Pandi Indra Bahadur Gurung passes awayगुरुङले शुभराज्याभिषेक पदक, प्राज्ञ मातृभाषा साहित्य पुरस्कारसहित विभिन्न संघ–संस्थाबाट सम्मान तथा अभिनन्दन प्राप्त गरेका थिए । उनी लमजुङकै दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालय, भोर्लेटारको ईशानेश्वर माध्यमिक विद्यालय र गिलुङको बुद्धोदय माध्यमिक विद्यालयका अध्यक्षसमेत रहेका थिए । चिनियाँ–तिब्बती ज्योतिष प्रतिष्ठानका संस्थापक अध्यक्ष रहँदै उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत योगदान दिएका थिए ।

उनी पछिल्लो समय आँखा नदेख्ने र कान समेत सुन्न नसक्ने अवस्थामा थिए । परिवारका अनुसार दमका विरामी समेत उनी बिहीबार अचानक बिरामी भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । चिकित्सकले बिहीबार राति करिब ८ बजे मृत घोषणा गरेका थिए । जेठो छोरा सुरेन्द्रकुमार गुरुङ बेलायतबाट आएपछि शनिबार मात्रै पार्थिव शरीर गाउँ लगिने परिवारले जनाएको छ ।

उनका श्रीमती काशीपिरी गुरुङ, छोरा सुरेन्द्रकुमार गुरुङ र बीरेन्द्रकुमार गुरुङ तथा छोरीहरू हेममाया घले र चन्द्रकुमारी गुरुङ छन् । गुरुङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा अध्ययन–अनुसन्धानमा जीवन समर्पण गरेका पैंडी इन्द्रबहादुर गुरुङको निधनले गुरुङ समुदायले अपूरणीय क्षति व्यहोरेको गुरुङ समुदायका अगुवाहरूले बताएका छन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully