‘उपन्यास ‘अमरामृत’ ले खड्ग शमशेरको जीवन मात्र होइन, पाल्पाको ऐतिहासिक चेतनालाई जीवन्त बनाएको जस्तो लाग्यो,’ आख्यानकारी रेग्मीले भने, ‘यस्ता कृतिले पर्यटन र इतिहास संरक्षणमा समेत योगदान पुर्याउनेछ ।’
What you should know
पाल्पा — पाल्पाको प्रमुख पर्यटकीयस्थल बनेको छ, प्रेमको प्रतीक रानीमहल । यही रानीमहलको निर्माण तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा गरेका हुन् । रानीमहलको तथ्यलाई साहित्यकार पुष्कर अथक रेग्मीले ‘अमरामृत’ उपन्यासमा उजागार गरेका छन् ।
उपन्यासको खड्ग शमशेरका पनाति तथा खड्ग शमशेर फाउन्डेसन, काठमाडौंका अध्यक्ष अजय शमशेर जबराले तानसेनमा सार्वजनिक गरे ।
आख्यानकार रेग्मीको लेखनीले पाल्पाको इतिहास र रानीमहलसँग भावनात्मक रूपमा जोडेको उनले बताए । ‘उपन्यास ‘अमरामृत’ ले खड्ग शमशेरको जीवन मात्र होइन, पाल्पाको ऐतिहासिक चेतनालाई जीवन्त बनाएको जस्तो लाग्यो,’ उनले भने, ‘यस्ता कृतिले पर्यटन र इतिहास संरक्षणमा समेत योगदान पुर्याउनेछ ।’
समकालीन नेपाली ऐतिहासिक आख्यानमा आˆनो सशक्त उपस्थिति जनाउँदै आएका आख्यानकार रेग्मीले भने, ‘यस उपन्यासलाई इतिहासको तथ्यमा आधारित रहेर लेखिएको छ ।’ खड्ग शमशेर वि.स. १९४६ मा पाल्पाको बडाहाकिममा नियुक्त भइ पुन:स्थापित भएका हुन् । वि.सं. १९५० मा उनले पत्नी तेजकुमारीको स्मृतिमा कालीगण्डकी नदीको तटमा भव्य रानीमहल बनाएका हुन् । त्यही तटलाई स्थानीयले रानीघाट भन्दै आएका छन् । जुन नेपालको ताजमहल कहलिएको छ ।
रेग्मीको कृति ‘अमरामृत’ मा खड्ग शमशेरले छोटो समय पाल्पामा रहेर दीर्घकालीन योगदान दिएको उल्लेख छ । खड्ग शमशेरमाथि थप अध्ययन आवश्यक रहेको सहभागीको छ । नेपालको इतिहासका प्रभावशाली पात्र तथा रानीमहलका निर्माता खड्ग शमशेर जबराको जीवनवृत्तमा आधारित रहेको पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले बताए । ‘उपन्यासले इतिहास, प्रेम, सत्ता र समयको गहिरो अन्तर्सम्बन्धलाई साहित्यिक आख्यानको माध्यमबाट उजागर गरेको छ,’ उनले भने ।
कृतिकार रेग्मीले ऐतिहासिक तथ्यलाई कल्पनाशील शैलीसाग संयोजन गर्दै समकालीन पाठकका लागि सशक्त आख्यान प्रस्तुत गरेको समीक्षक त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाकी उप–प्राध्यापक अर्चना शाक्यले बताइन् । पाल्पा साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा मधुकर शमशेर जबरा, जर्नेल जसवन्त शमशेर जबरा तथा पनातीनी बुहारी सुधाकुमारी राणाको उपस्थिति थियो ।
लेखक भागवत खनालले समीक्षा प्रस्तुत गर्दै रेग्मीको लेखनशैली, ऐतिहासिक अनुसन्धान र कथात्मक संरचनाले तथ्य उजागार गरेको बताए । उपन्यासमा २६ परिच्छेदमार्फत तात्कालीन इतिहास र खड्गशम्सेरको जीवनयात्रालाई प्रस्तुत गरिएको उनले बताए ।
कार्यक्रममा साहित्यकार तथा लेखक सीताराम घिमिरे, रामजी ढुंगाना, मुक्तिप्रसाद न्यौपाने, पदमप्रसाद न्यौपाने, मेघराज शर्मा, चित्रवलीराम सुवाल, सविता भट्टराईलगायतले रेग्मीको कृतिले खड्ग शमशेरबारे रानीमहल सुन्दर, जीवित राख्न सबैको प्रयास जरुरी रहेको बताएका थिए । अथकको ‘अमरामृत’ कृतिको प्रकाशकमा गोपाल पौडेल रहेका छन् । ३ सय ३६ पृष्ठको कृतिको मूल्य ८ सय ५५ रुपैंयाँ छ ।
