तमूसँगै आदिवासी भूगोल र संस्कृतिमाथि कसरी आक्रमण भइरहेको छ र सत्ताले कसरी आदिवासी जनजातिका नैसर्गिकता विरुद्धको कानुन निर्माण गरी उनीहरूका जीवनदर्शनलाई अपदस्थ गरेको छ भन्ने प्रश्नहरू कविता संग्रहमा उठाइएको छ ।
What you should know
पोखरा — कवि गौरी तमूको नवीनतम कविता संग्रह ‘सैँप्रोल’ को शनिबार पोखरामा लोकार्पण गरिएको छ । गुरुङ साहित्यिक मञ्च नेपालको आयोजना भएको लोकार्पण तथा विमर्श कार्यक्रममा वक्ताले कविता कृतिलाई गुरुङ समुदायको मिथक, पहिचान र महिला अस्तित्वको एउटा सशक्त दस्ताबेजका रूपमा अर्थ्याए । संग्रहमा विशेषगरी प्रकृति, पर्यावरण र आदिवासी ज्ञानको स्रोतलाई सरल तर गम्भीर रूपमा प्रस्तुत गरिएको वक्ताले बताए
कृति लोकार्पण गर्दै साहित्यकार सरुझक्तले गौरीका कविता मुक्तकाकारका रहेको बताए । ‘जातीय चेतना, महिलाका बारेमा लेखिएका आवाज बुलन्द छ,’ उनले भने, ‘सामाजिक विसंगतिलाई सम्बोधन गरिएको छ । जागरूक कवितात्मक चेत गौरीमा छ ।’ जातीय चेतना लिएर आएका कवि तथा लेखकले जातीय बिम्बलाई बोलेर साहित्य सिर्जना गर्दा नेपाली साहित्य समृद्ध हुँदै गएको उनको भनाइ थियो ।
साहित्यकार गनेस पौडेलले ‘सैँप्रोल’ महिलाको नाम भएको र पिताबाट छोरालाई होइन छोरीलाई ज्ञान हस्तान्तरण गर्नुपर्ने बाध्यात्मक परिस्थिति भए पनि छोरीलाई ज्ञान लिनबाट रोकिएको मिथकलाई आधार बनाएर कविता लेखिएको बताए । उनले सैँप्रोललाई विद्रोही महिला पात्रको रूपमा चित्रित गरिएको उल्लेख गर्दै कविता संग्रहमा छोटा कविताहरू समावेश भएको जानकारी दिए । उनले गौरीका कविता शिल्पको हिसाबले केही कमजोर भए पनि वैचारिकीको हिसाबले सशक्त रहेको बताए । ‘यो कविता संग्रहले नेपाली साहित्यमा ठूलै केही गर्नेवाला छ भनेर भन्नेवाला छैन,’ उनले भने, ‘समुदायको मिथकीय कथाको आधार लिएर प्रेम, महिला भएर भोग्नुपरेको फीडाको आक्रोश व्यक्त गरिएको छ ।’ उनले कविता संग्रहमा पर्यावरणसँग जोडिएर आउने महिलाको समस्या उजागर गरिएको बताए ।
प्रकृतिसँगको संवाद नै सभ्यता भएको उल्लेख गर्दै उनले कविताको महत्त्व प्रकृतिसँग जोडिएको र सरलतम रहेको बताए । ‘जनजाति चेतनाको सत्य भनेको सरलता हो । सैँप्रोल गुरुङको मात्रै भाषा रहेन, नेपालीको पनि भयो,’ उनले भने, ‘यो नेपाली शब्दकोशमा समेटिनुपर्छ । यसरी नै भाषा समृद्ध हुन्छ ।’ कविता संग्रहमा प्रकृति, पर्यावरण, समुदायको पुरातन ज्ञानको स्रोतको मिथकको कोलाज जस्तो भएर सरल रूपमा अभिव्यक्त भएको उनको धारणा थियो ।
कृतिको परिचर्चा गर्दै साहित्यकार तीर्थ गुरुङले ‘सैँप्रोल’ मा पाठकलाई सोचमग्न बनाउन सक्ने खुबी भएका कविता समावेश भएको बताए । ‘कविता सामान्य लेखन होइन । यो कृतिमा छोटा कविताहरूको संग्रह छ,’ उनले भने, ‘कविता पढिसकेपछि एकछिन मौन बस्नुपर्ने अवस्था आउँछ । पढेपछि सोचमग्न हुन सकियो भने त्यो कविताको शक्ति हो ।’
कवि गौरी तमूले तमू जातिको धर्मशास्त्र ‘प्येताँ ल्हुताँ’ मा तमू जातिबारेका अनेकौं रोचक मिथहरू पाइने र तीमध्ये सैँप्रोलमा केही विषयको मात्रै सूक्ष्म उठान गरेको बताइन् । उनले भनिन्, ‘सैँप्रोलमा महिला अस्तित्वसँगै तमू (गुरुङ) हरूको उत्पत्ति कहाँ ? कुन ठाउँमा ? कसरी भयो ? आगो, मर्चा र जाँडको उत्पत्ति कहाँ कसले गरे ? मरेपछि तमूहरूको मृत्यु संस्कार कसरी गरिनुपर्छ भन्ने प्रश्नहरूको सूक्ष्म खोजी गरिएको छ ।’ तमूसँगै आदिवासी भूगोल र संस्कृतिमाथि कसरी आक्रमण भइरहेको छ र सत्ताले कसरी आदिवासी जनजातिका नैसर्गिकता विरुद्धको कानुन निर्माण गरी उनीहरूका जीवनदर्शनलाई अपदस्थ गरेको छ भन्ने प्रश्नहरू समेत कविता संग्रहमा उठाइएको उनले बताइन् । ‘सैँप्रोल’ तमू महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोशको प्रश्न हो,’ उनले भनिन्, ‘पितृसत्ताको चंगुलमा फस्दै गरेको गुरुङ समुदायप्रतिको चिन्ता हो । सैँप्रोललाई महिला भएकै कारण उनको विद्वता र क्षमतामाथि गरिएको प्रश्नप्रतिको प्रतिरोध हो ।’ उनको यो दोस्रो कृति हो । यसअघि उनले मुक्तक संग्रह ‘समैं दर्बानी’ सार्वजनिक गरेकी थिइन् ।
