उनले विद्यार्थी, अनुसन्धानकर्ता र भाषा साधकहरूलाई आफ्ना भाषिक पहिचान र विरासतलाई गर्वका साथ र विद्वतापूर्ण जिम्मेवारीसहित जोगाइराख्न प्रेरित गरे।
What you should know
काठमाडौँ — आयामिक कवि तथा प्रतिष्ठित मुन्धुम विद्वान तिलविक्रम नेम्बाङ (वैरागी काइँला) ले बुधबार गान्तोकस्थित लिम्बू भवन, डीपीएचमा लिम्बू भाषा, मुन्धुम तथा साहित्यसम्बन्धी एक अर्थपूर्ण व्याख्यान दिए । उक्त कार्यक्रम सुखिम याक्थुङ साप्सोक सोंगचुम्भो (एसवाइएसएस) को आयोजनामा सम्पन्न भएको हो।
सम्बोधनका क्रममा काइँलाले शिक्षा, अनुसन्धान तथा सिर्जनात्मक लेखनलगायत विभिन्न क्षेत्रमा लिम्बू भाषा र साहित्यको संरक्षण, विकास तथा प्रवर्द्धनमा सिक्किमेली लिम्बू समुदायले पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे। उनले वक्ताहरूबीच भाषा प्रयोगमा भिन्नता देखिनु स्वाभाविक भए पनि भाषा र साहित्यसँग सम्बन्धित यस्ता संवेदनशील विषयहरू कानुनी माध्यमभन्दा संवाद, आपसी समझदारी र शैक्षिक विमर्शमार्फत समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ' किनकि कानुनी उपायले सधैं रचनात्मक समाधान दिन सक्दैनन्।'
आफ्ना व्यक्तिगत अनुभवहरू साझा गर्दै उनले मुन्धुम अध्ययन, भाषिक अनुसन्धान र साहित्यिक साधनामा आफ्नो आजीवन संलग्नताको चर्चा गरे । विद्यार्थी, अनुसन्धानकर्ता र भाषा साधकहरूलाई आफ्ना भाषिक पहिचान र विरासतलाई गर्वका साथ र विद्वतापूर्ण जिम्मेवारीसहित जोगाइराख्न प्रेरित गरे।
कार्यक्रममा पूर्वमन्त्री बिरबल लिम्बू; अवकाशप्राप्त पुलिस महानिर्देशक ओम हाङ लिम्बू,अवकाशप्राप्त सचिव तथा सिक्किम राज्य शिक्षक भर्ती बोर्डकी अध्यक्ष विद्या लिम्बू,अवकाशप्राप्त सचिव तथा पूर्व एसपीएससी अध्यक्ष एस. बी. लिम्बू; प्रधान मुख्य इञ्जिनियर सुकबीर लिम्बू तथा हैदराबाद विश्वविद्यालयका प्रा. डा. भीम सुब्बा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यसका साथै एसवाइएसएसका कार्यकारिणी सदस्यहरू, सहायक प्राध्यापकहरू, लिम्बू भाषा शिक्षकहरू, प्रख्यात साहित्यकारहरू तथा तादोङस्थित नरबहादुर भण्डारी सरकारी कलेज र सिक्किमको कञ्चनजंघा राज्य विश्वविद्यालयका लिम्बू विद्यार्थीहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमको अन्त्य अन्तरक्रियात्मक सत्रसँगै भएको थियो, जसले भावी पुस्ताका लागि लिम्बू भाषा, मुन्धुम र साहित्यिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा समृद्धिका लागि साझा प्रतिबद्धता दोहोर्याएको थियो।
