पितृसत्तालाई ‘अग्निगर्भा’ को चुनौती

उपन्यास ‘अग्निगर्भा’ अर्चना थापाको दोस्रो आख्यान हो । यसअघि उनको 'कठपुतला' कथासंग्रह प्रकाशित छ ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Agnigarbha's challenge to patriarchy

What you should know

काठमाडौँ — अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक एवं समालोचक महेश पौड्यालले किचनमा पनि आन्दोलन हुनुपर्ने बताएका छन् । शनिबार शिल्पी थियटरमा अर्चना थापाको 'अग्निगर्भा' उपन्यास विमोचन कार्यक्रममा उपप्राध्यापक पौड्यालले लैंगिक विभेद अन्त्यका लागि एक प्रकारको आन्दोलन नै चाहिने बताएका हुन् ।

महिलामाथि भान्छादेखि नै विभेद हुने उनको भनाइ छ ।  भान्छाको काममा महिलालाई नसघाउने सामान्य प्रवृत्ति भए पनि पछिल्लो समय परिवर्तन देखिन थालेको पौड्यालले बताए । उनले भने, 'जनरल ट्रेन्ड त्यही भए पनि हामीलाई लज्जाबोध हुन थालेको छ । यो लज्जालाई जनआन्दोलन बनाउन जरुरी छ ।'

आन्दोलन सडकमा मात्र होइन, किचनमा पनि गर्नुपर्ने भन्दै उनले अगाडि भने, 'बच्चा पनि हुर्काउनु, दूध पनि खुवाउनु, लुगा पनि धुनु, अनि पत्रिका 'महान्' भनेकाहरूलाई लगेर दिनु । दिस इज सेमफुल । यो चिजहरूलाई तोड्ने कामको सुरुवात इन्टेलेक्चुअल स्पेसमा काम गर्नेहरूबाटै हुनुपर्छ ।'

त्यस्तै, सञ्चारकर्मी आरती चटौतले उपन्यासको विषयवस्तु विशेषगरी भान्छाकोठाको वरिपरिमा केन्द्रित रहेको बताइन् । त्यसो त उपन्यासकार थापाले पनि कथावस्तुबारे प्रस्ट पार्दै आमा अञ्जना सिजापति थापामा समर्पित भन्दै लेखेकी छिन्, 'आगो धुँवा पानी भाप बास्ना र खरानीमा कथा लेख्नेहरू... अस्तित्व झिल्का जोगाउनेहरूमा समर्पित ।' सञ्चारकर्मी चटौतले आज पनि पितृसत्ता बलियो रूपमै कायमै रहेको बताइन् । 'नेपालमा क्रान्तिकारी संविधान आए पनि तर आजको दिनसम्म पनि त्यो संविधानले महिलाको अंश र वंश स्वीकार गरेको छैन । त्यसमा तर वा किन्तु, परन्तु भनिएको छ,' उनले भनिन् । 

पितृसत्ताले महिलाको सार्वजनिक जीवनको कल्पना नगर्ने भन्दै उनी भन्छिन्, 'राज्यसत्तामा रहेका हुन् वा समाज हाँक्ने हुन् कि इन्टेलेक्चुअल्स जोसुकै हुन् तिनले महिलाप्रतिको दृष्टिकोणमा के परिवर्तन ल्याए त भन्ने ठूलो प्रश्न त छँदै छ नि ।' 

लेखक अर्चना थापाले परिवारमा कस्तो कथा सुनाइन्छ, त्यही तरिकाले विभेद पनि बढ्दै जाने बताइन् । 'हामीले घरका सदस्यहरूले सम्मानजनक ढंगले देखाउन सक्दैनौँ । हामीले जस्ता कथा सुनाउँछौँ । जस्तो व्यवहार गर्छौँ बालबालिका आफैंले त्यस्तै सिक्दै जाने रैछन् । हामीले कथाहरू लेख्दा वा सुनाउँदा 'हिलिङ' का कथा सुनाउँदैनौँ । हामीले विभेदका कथालाई प्राकृतिक लाग्नेगरी सुनाउँछौँ,' उनले भनिन् ।

आफू जेन-जीप्रति आशावान रहेको पनि उनको भनाइ छ । 'हरेक पुस्ताले विद्रोह गरेको  छ । त्यसैले नयाँ पुस्ताले विभेदलाई पुनरावृत्ति हुने गरी कदम चाल्दैनन् भन्ने मलाई लाग्छ । हामीले भन्दै आएका र गर्दै आएका सबै कुरा सही नहोलान्, त्यसमा हाम्रा सशक्त छोरीहरूले च्यालेन्ज गर्न सक्छन्,' उनले भनिन् । 

२०७५ मा लेख्न सुरु गरे पनि झन्डै ७ वर्ष लागेको लेखकको भनाइ छ । उपन्यास लेखनमा समय लाग्नुमा लेखक थापा भन्छिन्, 'सुरुवातदेखि कथावस्तु त्यही रहे पनि कथनशैली, उपकथाहरू र पात्रहरू परिवर्तन भइरहे ।'     

अक्षर क्रिएसन्स नेपालबाट प्रकाशित 'अग्निगर्भा' थापाको दोस्रो आख्यान हो । यसअघि उनको 'कठपुतला' कथासंग्रह प्रकाशित छ । 

कान्तिपुर

Link copied successfully