साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दलाई सामूहिक अभिनन्दन

चन्दलाई २०५४ सालमा मदन पुरस्कारबाट पनि सम्मान गरिएको थियो।

मंसिर २३, २०८२

सुन्दर शिल्पकार

Collective felicitations to litterateur and former Prime Minister Chand

What you should know

भक्तपुर — वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई १ सय १ वटा साहित्यिक संस्थाले सामूहिक रूपमा अभिनन्दन गरेका छन्। भक्तपुरको लोकन्थलीमा सोमबार आयोजित एक समारोहबीच वरिष्ठ साहित्यकार चन्दलाई साहित्यिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो। 

लामो राजनीतिक यात्रामा आफ्नो विशिष्ट पहिचान स्थापित गर्नुका साथै साहित्य, रचना तथा सिर्जनाका माध्यमबाट नेपाल र नेपाली जनताको हितमा ६ दशक लामो सिर्जना यात्रा पूरा गरेको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

चन्दले कथा, कविता, उपन्यास, हास्य–व्यंग्य, निबन्धलगायतका विधामा विपुल सिर्जना गरेका छन्। अभिनन्दन कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दले देशको सार्वभौमिकता, अखण्डता, सम्रभुता तथा स्वतन्त्रता कायम राख्न सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने धारणा राखे। उनले साहित्य क्षेत्रलाई आफ्नो ‘पहिलो प्रेम’ भन्दै सामूहिक रूपमा गरिएको अभिनन्दनप्रति आभार व्यक्त गरे।

Collective felicitations to litterateur and former Prime Minister Chandसमालोचक प्रमोद प्रधानले राजनीतिक यात्राका कारण चन्दको साहित्यिक यात्रामा केही बाधा परेको भए पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति मोहका कारण उनी सक्रिय रहन सफल भएको बताए। ८६ वर्षको उमेरमा समेत चन्दका दर्जनभर सिर्जना प्रकाशित भएको उल्लेख गर्दै उनले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

चन्दलाई २०५४ सालमा मदन पुरस्कारबाट पनि सम्मान गरिएको थियो। ‘विसर्जन’, ‘बार्हौं खेलाडी’, ‘अपरिचित’, ‘सन्ध्यावली’, ‘रात्रिभोज’, ‘कुर्सी’, ‘हिउँको तन्ना’, ‘इन्द्रधनुष’ र ‘नेताको साथी’ जस्ता कृतिहरू उनका उल्लेखनीय योगदान हुन्। कार्यक्रम तारा किशन फाउन्डेसन, नेपाल स्रष्टा समाज र साहित्यिक पत्रकार संघले संयुक्त रूपमा आयोजना गरेका थिए।

सुन्दर

Link copied successfully