सामुदायिक रेडियो नारायणी एफएमको २०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सूर्यनारायण विक तृतीय भएका छन् ।
काठमाडौँ — सामुदायिक रेडियो नारायणी एफएम, वीरगन्जले आयोजना गरेको समाचार वाचन प्रतियोगितामा माधव तिमिल्सिना प्रथम भएका छन् । रेडियोको २०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सूर्यनारायण विक तृतीय भएका छन् ।
त्यसैगरी सुरेश बिडारी, विमला गुप्ता र आर्जु देवकोटाले सान्त्वना स्थान हासिल गरेको रेडियो नारायणी एफएमका प्रबन्ध निर्देशक शिवनाथ यादवले बताए ।
तिमिल्सिनाले २० हजार, खरेलले १५ हजार, विकले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै सान्त्वना स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए ।
यस्तै प्रतियोगितामा सहभागी वीरगन्ज पब्लिक कलेजका अमरप्रित कौर, वीरगञ्ज कलेजकी फारिदा खातुन र ज्ञानदा एकेडेमीकी प्रार्थना अधिकारीलाई प्रोत्साहनस्वरूप जनही १५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा २८ जना विद्यार्थीसहित १४ जना क्रियाशिल पत्रकार सहभागी भएका थिए।
प्रतियोगिताको मूल्याङ्कन लक्ष्मण कार्की, प्रतिमा चौधरी र सन्तोष देउजाले गरेका थिए । यस्ता प्रतिस्पर्धाले नयाँ पुस्तालाई पत्रकारिता पेशाप्रति आकर्षण गर्ने र अहिले काम गरिरहेकालाई हौसला प्राप्त हुने निर्णायक कार्कीले बताए ।
रेडियोप्रति नयाँ पुस्ताको आकर्षण बढाउन तथा समाचार वाचनमा संलग्न रेडियो पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रेडियो नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाको भनाइ छ ।
