दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रिया, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ ।
What you should know
काठमाडौँ — किताब यात्रा फाउन्डेसनकाे आयाेजनामा हुने 'किताब जात्रा'को सातौं संस्करण २५ र २६ मंसिरमा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने भएको छ ।
‘किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ किताब जात्रा फेस्टिभलका निर्देशक ऋषिराम अधिकारीले भने। समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिन चाहेको उनको भनाइ छ।
अधिकारीले सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । फेस्टिभलमा दुइ दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रममा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ। साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ।
महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुति, सुदूरपश्चिमेली छलिया नाच, तराई मधेशको झिझिया नाच, पूर्वेली मारुनी नाच पनि देखाइने छ। अभिनेता नाजिर हुसेनको कविता वाचन, एआई साहित्यलगायतको प्रस्तुति हुनेछ। साथै जात्रामा ऋषभ काफ्ले र प्रभात लामाको स्ट्यान्डअप कमेडी हुनेछ।
साहित्यकार नीलम कार्की निहारिका, लेखक तथा पत्रकार मोहन मैनाली, कवि, लेखक, गीतकार नवराज लम्साल, लेखक सुबिन भट्टराई, पत्रकार टीकाराम यात्री, बैंकर अनिल केशरी शाह, पत्रकार राजेन्द्र बानियाँ सेसनमा वक्ता रहनेछन् । यस्तै, सञ्चारकर्मी रुपेश श्रेष्ठ, विराट अनुपम, सञ्जय सिलवाल गुप्ता, सम्पदा लिम्बू, विश्व लिम्बू, उत्सव रसाइली, दीपकराज जोशी, राजेश हमाल, वसन्त चौधरी, अमर न्यौपाने, विप्लव प्रतीक, मिलन बुढाथोकी, सन्दीप क्षेत्री, नरेश भट्टराईलगायत पनि सहभागी हुनेछन् ।
फेस्टिभलमा दुई जनालाई ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने कार्यक्रम पनि रहेको निर्देशक अधिकारीले बताए ।
