कार्यक्रमको समापनमा पाँच बुँदे रोल्पा घोषणा पत्र सार्वजनिक गरिएको थियो भने आगामी वर्ष हुने ३१ औं राष्ट्रिय बालसाहित्य सम्मेलन कपिलवस्तुको तौलिहवामा हुने घोषणा गरियो ।
What you should know
रोल्पा(लिबाङ) — ३० औं राष्ट्रिय बालसाहित्य सम्मेलन रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।
नेपाल बालसाहित्य समाजको आयोजना तथा रोल्पाका साहित्यिक संघसंस्थाको सहआयोजना र स्थानीय मूल आयोजक समितिको व्यवस्थापनमा लिबाङको टुँडिखेल, जलजला क्याम्पस र उद्योग वाणिज्य संघ रोल्पाको भवनमा गत बिहीबार र शुक्रबार दुईदिनसम्म उक्त सम्मेलन चलेको थियो ।
सम्मेलनको पूर्व अर्थमन्त्री एवं सांसद वर्षमान पुनले उद्घाटन गरेका थिए । पुनले जेन–जीहरु स्मार्ट रहेको जनाउँदै अबको बालसाहित्य अल्फा जेनरेसनका लागि लेखिनुपर्नेमा जोड दिएका थिए ।
सम्मेलनमा नेपाली बालसाहित्य सर्जक र केही विदेशी सर्जकहरुको पनि उपस्थिति रहेको थियो । विदेशी सर्जकमा चीन, स्लोभेनिया र भारतबाट उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा दिन बिहीबार विभिन्न विद्यालय र समूहमा आबद्ध स्थानीयले झाँकीसहित नगर परिक्रमा गरी टुँडिखेलको उद्धघाटन सत्रमा सामेल भएका थिए ।
सम्मेलनमा बालपुस्तकहरुको विमोचन गरिनुका साथै विभिन्न सत्रमा बालविकासमा बालसाहित्यको भूमिकाबारे विचार–विमर्श गरिएको थियो । सम्मेलनमा बाल पुस्तक प्रदर्शनीमा राख्नुका साथै रचना वाचनसमेत गरिएको थियो ।
सम्मेलनमा कथा, चित्रकला, कविता, निबन्ध, अभिनय, हस्तलेखन लेखन, कथा वाचन, नृत्यलगायतका प्रशिक्षण दिनुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो ।
कार्यक्रमको समापन पाँच बुँदे रोल्पा घोषणा पत्र सार्वजनिक गरिएको थियो । उक्त घोषणा पत्रमा बाल प्रतिभाको प्रस्फुटनका लागि धेरैभन्दा धेरै कार्यक्रमहरु गर्ने, पठन संस्कृतिको विकासका लागि हरेक विद्यालय र पालिकाहरुमा पुस्तकालय स्थापना र पठन समय निर्धारण गर्ने कामलाई प्रोत्साहित गर्ने, बालबालिकामा आइपर्ने विभिन्न समस्याको समाधान गर्ने र विभिन्न भाषा र जातिका बाल लोक वार्ता, लोककथा, किंवदन्ती र मिथकहरुको अनुसन्धान र अध्ययनलाई बिस्तार गर्नेसम्मका कुराहरु समेटिएका छन् ।
यस्तै, कार्यक्रममा आगामी वर्ष हुने ३१ औं राष्ट्रिय बालसाहित्य सम्मेलन कपिलवस्तुको तौलिहवामा हुने घोषणासमेत सम्मेलनको समापनका क्रममा गरिएको छ ।
