गिरीका कविता र निबन्धसंग्रह एकसाथ बजारमा

गिरीले छैटौं कविता सञ्चयनका रूपमा 'रातमा कलम' र चिन्तनपरक निबन्धहरूको नयाँ संकलन 'समय, शब्द र संवाद' एकसाथ सार्वजनिक गरेका हुन् । 

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Giri's poetry and essay collection released together

What you should know

काठमाडौँ — कवि, निबन्धकार एवं समालोचक अमर गिरीका दुई साहित्यिक कृति एकैसाथ बजारमा आएका छन् । गिरीको छैटौं कविता सञ्चयनका रूपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरूको नयाँ संकलन ‘समय, शब्द र संवाद’ मंगलबार राजधानीमा सार्वजनिक भएको हो ।

संक्षिप्त पत्रकार भेटघाटमा गिरीले नयाँ संग्रहका तीन कविता 'रातमा कलम', 'हे राम !' र 'एउटा क्रियाका नाममा' सुनाए ।

'एकै भञ्ज्याङ चढ्दैमा बिसाइ नफेर्ने काव्ययात्री हुन्– अमर गिरी । कविताको उकालोमा पाँच दशकभन्दा बढी समय अथक यात्री हुनु आफैमा असाधारण साक्ष्य हो,' प्रकाशक बेला पब्लिकेसन्सले भनेको छ, 'कवि गिरी २०३० को दशकदेखि प्रगतिवादी कविता धारामा अनवरत क्रियाशील छन् । समाज, प्रकृति, जीवन, दर्शन, वर्गसंघर्षजस्ता स्थूल विषयदेखि मानवजीवनका सूक्ष्मतम मनोद्वन्द्व, प्रेम, पीडा, आशा, निराशा, चिन्ताजस्ता भावनालाई पनि सहज शब्दबुनोट र सुन्दर शैलीमा अभिव्यक्ति दिन्छन् गिरीका कविताले । आम मान्छेका सुखदुःखलाई वाणी दिने, जीवन महत्ताको गाथा गाउने, संघर्षशीलहरुसँग ऐक्यबद्धता जनाउने, विकृत दुनियाँको विरूद्धमा निर्धक्क उभिने  गिरीका यी कविता कोमल लवजका तिक्खर स्वरहरु हुन् ।'

राजनीतिक स्तम्भ लेखनमा समेत समानान्तर कलम चलाइरहेका गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनका यसअघि नै ‘घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौं, दुःसाध्य समय, शब्दहरुका बीचमा र समय संवाद जस्ता पाँच कविता कृति आइसकेका छन् । गिरीका मौलिक र सम्पादित गरेर दर्जनौं समालोचना कृति पनि प्रकाशित छन् । उनका प्रमुख समालोचना कृति हुन्– समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, साहित्य विमर्श, कवितामा वर्गद्वन्द्व । उनको सम्पादन र सहसम्पादनमा थुप्रै समालोचना सँगालो प्रकाशित छन् ।

पाँच दशकदेखि नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन, साहित्य–फाँट र संगठनका क्षेत्रमा पनि क्रियाशील गिरी प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष हुन् । उनले नेपाली प्रगतिवादी कवितामा विद्यावारिधि अनुसन्धान गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully