गीता प्रेसको दोस्रो वितरण शाखा बुटवलमा

पूर्वीय दर्शनसम्बन्धी झण्डै एक हजार पुस्तक दुई रुपैयाँदेखि तीन हजारसम्ममा बुटवलमै पाइने ।

मंसिर १०, २०८२

घनश्याम गौतम

Geeta Press's second distribution branch in Butwal

बुटवल — पूर्वीय दर्शन तथा धार्मिक साहित्यका लागि प्रसिद्घ गीता प्रेसद्वारा प्रकाशित पुस्तकहरूको बिक्री वितरण अब बुटवलबाटै हुने भएको छ । भारतको गोरखपुरस्थित गीता प्रेसले प्रकाशन गर्ने सम्पूर्ण पुस्तक सहज रुपमा उपलब्ध गराउने उद्देश्यले बुटवलमा बुधबारदेखि बिक्री वितरण केन्द्र खोलिएको हो । गीता प्रेसको यो दोस्रो वितरण शाखा हो ।

बुटवलको जेसिज चोकमा स्थापना गरिएको गीता प्रेस पुस्तक बिक्री वितरण केन्द्रबाट १८ पुराण, उपनिषद्, दर्शन, संस्कृत साहित्यदेखि विभिन्न धार्मिक–आध्यात्मिक पुस्तक उपलब्ध हुने छन् । 

बिक्री केन्द्रबाट दुई रुपैयाँदेखि तीन हजार भारतीय रुपैयाँमा पुस्तक उपलब्ध हुने केन्द्रका सञ्चालक तथा विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालले बताए ।

उनका अनुसार अब पूर्वीय दर्शनका पुस्तकहरू अध्ययन र खरिद गर्न भारत वा काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । बुटवलमा सञ्चालनमा आएको यो गीता प्रेसको दोस्रो शाखा हो । गीता प्रेसद्वारा प्रकाशित करिब तीन हजार पुस्तकमध्ये एक हजारभन्दा बढी पुस्तक बुटवलबाटै उपलब्ध हुने खरालले बताए । संस्कृत, नेपाली, अंग्रेजी तथा हिन्दी भाषामा उपलब्ध पुस्तकहरू ग्राहकको मागअनुसार उपलब्ध गराइने उनले जानकारी दिए ।

विश्व ज्योतिष महासंघका अध्यक्ष तथा धार्मिक अभियन्ता ज्योतिष जनार्दन न्यौपानेले मुलुकको पश्चिम क्षेत्रमा बसोबास गर्ने पाठकका लागि बुटवल वितरण केन्द्र उपयोगी हुने बताए । ‘पूर्वीय दर्शन अध्ययन तथा आध्यात्मिक साहित्य रुचाउनेका लागि यो निकै ठूलो अवसर हो,’ उनले भने, ‘यस क्षेत्रका आध्यात्मिक साहित्यमा रुचि राख्नेहरुका लागि सहज पहुँच पुग्ने विश्वास हामीलाई छ ।’

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully