गैंडाकोटमा सुनिए चार गजलकार 

गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा, काठमाडौंबाट आएका बाबु त्रिपाठी, विराटनगरबाट आएकी बबिता भुजेल र देवघाटबाट आएका एसआर दुवाडीले एउटै मञ्चमा बसेर गजल सुनाए ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Four ghazal singers heard in Gaindakot

काठमाडौँ — गजल मञ्च चितवनले नियमितरूपमा सञ्चालन गर्दै आएको ‘गजलसँग...’ शृङ्खलाको एघारौँ अङ्कमा ४ गजलकारले गजल प्रस्तुत गरेका छन् ।

नारायणी किनार गैंडाकोटमा गरिएको कार्यक्रममा ४ जना स्रस्टालाई गजल प्रस्तुत गर्न उभ्याइएको थियो ।

गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा, काठमाडौंबाट आएका बाबु त्रिपाठी, विराटनगरबाट आएकी बबिता भुजेल र देवघाटबाट आएका एसआर दुवाडीले एउटै मञ्चमा बसेर गजल सुनाए ।

ती सबै सर्जकले तीन चरणमा गरी छ–छ वटा गजल सुनाए । वाचनसँगै गायन शैलीमा पनि प्रस्तुत गरिएको कार्यक्रमलाई दर्शकले निकै मन पराए ।

गजल मञ्च चितवनले नयाँ सर्जकलाई प्रोत्साहन र अनुभवीलाई सम्मान गर्ने उद्देश्यले यस्तो शृङ्खला निरन्तरता दिँदै आएको छ ।

विविध भौगोलिक क्षेत्रका प्रतिनिधि सर्जकलाई एकै मञ्चमा ल्याइनुले गजल लेखनको दायरा फराकिलो बन्दै गएको मञ्चका अध्यक्ष रामकृष्ण अनायासले बताए ।

यस्ता कार्यक्रमले नयाँ सर्जकको आत्मविश्वास र सिर्जना क्षमतामा वृद्धि भएको मञ्चका उपाध्यक्ष कमल अर्यालको भनाइ छ । ‘गजल यात्रामा लागेकालाई एक ठाउँमा ल्याउने हाम्रो प्रयासले युवामा सक्रियता बढाएको छ,’ उनले भने ।

विभिन्न कार्यक्रममार्फत करिब दुई दशकको यात्रामा संस्थाले धेरै प्रतिभा अगाडि ल्याउन सहयोग गरेको मञ्चका सचिव प्रमिला सानुको भनाइ छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully