शंकर राईको पुस्तक 'ट्रायम्फ एन्ड टियर्स' बजारमा

फोकल्याण्ड युद्धमा भाग लिएका लेखक राई त्यसपछि ब्रिटिश सरकारबाट सम्मानित भएका थिए ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Shankar Rai's book 'Triumph and Tears' hits the market

काठमाडौँ — भूतपूर्व ब्रिटिश गोर्खा सैनिक, शंकर राईले लेखेको अंग्रेजी भाषाको पुस्तक 'ट्रायम्फ एन्ड टियर्स' बजारमा आएको छ । ७ अक्टोबरमा बेलायतको एल्डरसट टाउनस्थित एम्पायर बाङकेटिङ हलमा यो पुस्तक विमोचन गरिएको थियो ।

सन् १९८६ मा ब्रिटिश सेनामा भएको हवाइ काण्डका विषयमा केन्द्रित पुस्तकलाई सांसद् एलेक्स बेकरले विमोचन गरेकी हुन् । बेकर सर्वदलीय संसदीय समूहकी अध्यक्ष हुन् । 

 सन् १९८२ मा भएको प्रसिद्ध फोकल्याण्ड युद्धमा भाग लिएका लेखक राई त्यसपछि ब्रिटिश सरकारबाट सम्मानित भएका थिए । हवाई द्वीपमा अमेरिकन र ब्रिटिश सैनिकहरूको संयुक्त अभ्यासपछि भएको बिदाइ भोजमा एउटा सानो घटनाले उग्र रूप लिँदा, उनी लगायत ११० जना नेपाली मूलका गोर्खाहरूलाई ब्रिटिश सेनाबाट निष्कासित गरिएको थियो । क्षतिपुर्तिबिना निष्कासित गरिएपछि ११० मध्ये धेरै सैनिक बेरोजगार भए । यही घटनाक्रमका आधारमा पुस्तकको नाम 'ट्रायम्फ टु टियर्स' अर्थात विजयदेखि आँसुसम्म राखिएको उनले बताएका छन् ।  

'पूर्ण छानबिन नगरी हामीलाई सुविधाविहीन ढंगले खाली खुट्टा, रित्तो हात ब्रिटिश सेनाबाट निकालिएको थियो,' लेखक राई भन्छन्, 'हामीमाथि भएको यस अन्यायविरूद्ध हामी आज पनि संघर्ष गरिरहेका छौँ ।'

कान्तिपुर

Link copied successfully